YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:21-33

भजनसंग्रह 78:21-33 NNRV

जब परमप्रभुले तिनीहरूका कुरा सुन्‍नुभयो, तब उहाँ साह्रै क्रोधित हुनुभयो, र याकूबको विरुद्धमा उहाँको आगो सल्‍क्‍यो, र इस्राएलको विरुद्ध उहाँको क्रोध दन्‍क्‍यो, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन्‌, र उहाँको उद्धारमा भरोसा राखेनन्‌। तापनि उहाँले माथि आकाशलाई हुकुम दिनुभयो, र स्‍वर्गका ढोकाहरू खोलिदिनुभयो। उहाँले मानिसहरूका निम्‍ति खानलाई मन्‍न बर्साउनुभयो, तिनीहरूलाई स्‍वर्गको अन्‍न दिनुभयो। मानिसहरूले स्‍वर्गदूतहरूको रोटी खाए। परमेश्‍वरले तिनीहरूलाई मनग्‍गे खानेकुरा दिनुभयो। उहाँले आकाशमा पूर्वीय बतास छोड्‌नुभयो, र उहाँले आफ्‍नै शक्तिले दक्षिणी बतास चलाउनुभयो। उहाँले धूलाको कणसरह मासु बर्षाउनुभयो, उड्‌ने पक्षीहरू समुद्री तटको बालुवाझैँ बर्षाउनुभयो। उहाँले तिनीहरूको छाउनीभित्र ती पक्षीहरू तिनीहरूका पालको चारैतिर आउन लगाउनुभयो। तिनीहरूले खाए, र तिनीहरू तृप्‍त भए, किनकि उहाँले तिनीहरूलाई तिनीहरूको इच्‍छाबमोजिम दिनुभएको थियो। तर तिनीहरूको तृष्‍णा मेटिन अघि, तिनीहरूले खाएका मासु तिनीहरूका मुखैमा हुँदा, तिनीहरूमाथि परमेश्‍वरको क्रोध दन्‍किउठ्यो। र तिनीहरूमध्‍येका बलवान्‌हरूलाई उहाँले मार्नुभयो, इस्राएलका युवकहरूलाई निमिट्यान्‍न बनाइदिनुभयो। यति हुँदा पनि तिनीहरूले पाप गरी नै रहे, उहाँका आश्‍चर्यकर्म हुँदाहुँदै पनि तिनीहरूले विश्‍वास गरेनन्‌। यसकारण उहाँले तिनीहरूका दिन व्‍यर्थतामा, र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा लोप गराइदिनुभयो।