YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 74:12-23

भजनसंग्रह 74:12-23 NNRV

तर हे परमेश्‍वर, तपाईं तादिदेखि नै मेरा राजा हुनुहुन्‍छ, तपाईंले पृथ्‍वीमा उद्धार ल्‍याउनुहुन्‍छ। तपाईं नै हुनुहुन्‍छ जसले आफ्‍नो शक्तिले समुद्रलाई विभक्त गर्नुभयो, तपाईंले समुद्रको ठूलो जलचरका टाउकोहरू चूर्ण पार्नुभयो। तपाईंले लिव्‍यातन्‌ जल-पशुका शिरहरू चूरचूर पार्नुभयो, र तपाईंले त्‍यसलाई वनपशुहरूका आहारको निम्‍ति दिनुभयो। तपाईं नै हुनुहुन्‍छ जसले पानीका मूल र खोलाहरू फुटाएर निकाल्‍नुभयो। तपाईंले निरन्‍तर बगिरहने नदीहरूलाई सुकाइदिनुभयो। दिन तपाईंको हो, रात पनि तपाईंकै हो। सूर्य र चन्‍द्र तपाईंले नै स्‍थापित गर्नुभयो। पृथ्‍वीका सबै साँधसिमाना तपाईंले नै लगाउनुभएको हो। तपाईंले ग्रीष्‍म ऋतु र शिशिर ऋतु बनाउनुभएको हो। हे परमेश्‍वर, शत्रुले तपाईंको कसरी ठट्टा गर्छ सो सम्‍झनुहोस्‌, र मूर्ख मानिसहरूले कसरी तपाईंका नाउँको निन्‍दा गरेका छन्‌। तपाईंको आफ्‍नो ढुकुरको प्राण जङ्गली जनावरलाई नदिनुहोस्‌। आफ्‍नो पीडित जनको प्राणलाई सदाकाल नभुल्‍नुहोस्‌, तपाईंका करारको मर्यादा कायम राख्‍नुहोस्‌, किनकि देशका अँध्‍यारा ठाउँहरू हिंसाले भरिएका छन्‌। थिचोमिचोमा परेकाहरू शर्ममा पछि नहटून्‌, दु:खी र दरिद्रहरूले तपाईंका नाउँको प्रशंसा गरून्‌। हे परमेश्‍वर, उठ्‌नुहोस्‌, र आफ्‍नो पक्षको विषयलाई सम्‍हाल्‍नुहोस्‌। मूर्ख मानिसहरूले कसरी दिनभरि तपाईंको ठट्टा गरिरहन्‍छन्‌ सो सम्‍झनुहोस्‌। तपाईंका विरोधीहरूको होहल्‍ला र तपाईंका शत्रुहरूको निरन्‍तर हुने खैलाबैला नभुल्‍नुहोस्‌।