YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 31:9-18

भजनसंग्रह 31:9-18 NNRV

ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमप्रभु, किनकि म ठूलो सङ्कष्‍टमा परेको छु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌, मेरो प्राण र मेरो शरीर सुकिसकेका छन्‌ मेरो जीवन वेदनामा, र मेरो उमेरचाहिँ सुस्‍केरामा बितेका छन्‌। मेरो क्‍लेशको कारणले मेरो बल घटेको छ, र मेरा हाड़हरू कमजोर भइसकेका छन्‌। मेरा सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूका निम्‍ति तुच्‍छ भएको छु। म मेरा मित्रहरूका लागि भयको कारण बनेको छु। मलाई बाटोघाटोमा देख्‍नेहरू मदेखि भाग्‍छन्‌। मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन्‌, म त फुटेको भाँड़ाजस्‍तै भएको छु। किनकि धेरैले मेरो विरुद्धमा निन्‍दा गरेका मैले सुनेको छु, जताततै आतङ्क मात्र छ। तिनीहरू मिलेर मेरो विरुद्ध मिलेमतो गर्छन्‌, र मेरो प्राण लिनलाई तिनीहरू षड्‌यन्‍त्र रच्‍छन्‌। तर हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्‍छु, म भन्‍छु, “तपाईं नै मेरा परमेश्‍वर हुनुहुन्‍छ।” मेरा समय तपाईंकै हातमा छन्‌, मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्‌। तपाईंको मुहार आफ्‍नो दासमाथि प्रज्‍वलित होस्‌, तपाईंको अचूक कृपामा मेरो उद्धार गर्नुहोस्‌। मैले शर्माउनु नपरोस्‌, हे परमप्रभु, किनकि मैले तपाईंमा पुकारा गरेको छु। तर दुष्‍टहरू शर्ममा परून्‌, र पातालमा जाऊन्‌ र त्‍यहीँ चूपचाप रहून्‌। तिनीहरूका झूटा ओठहरू बन्‍द भइजाऊन्‌, किनकि तिनीहरू धर्मी जनका विरुद्धमा तिरस्‍कार र अहङ्कारसाथ बोल्‍छन्‌।