भजनसंग्रह 31:9-18
भजनसंग्रह 31:9-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ममाथि अनुग्रह गर्नुहोस्, हे परमप्रभु, किनकि म ठूलो सङ्कष्टमा परेको छु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्, मेरो प्राण र मेरो शरीर सुकिसकेका छन् मेरो जीवन वेदनामा, र मेरो उमेरचाहिँ सुस्केरामा बितेका छन्। मेरो क्लेशको कारणले मेरो बल घटेको छ, र मेरा हाड़हरू कमजोर भइसकेका छन्। मेरा सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूका निम्ति तुच्छ भएको छु। म मेरा मित्रहरूका लागि भयको कारण बनेको छु। मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्। मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन्, म त फुटेको भाँड़ाजस्तै भएको छु। किनकि धेरैले मेरो विरुद्धमा निन्दा गरेका मैले सुनेको छु, जताततै आतङ्क मात्र छ। तिनीहरू मिलेर मेरो विरुद्ध मिलेमतो गर्छन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्छन्। तर हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्छु, म भन्छु, “तपाईं नै मेरा परमेश्वर हुनुहुन्छ।” मेरा समय तपाईंकै हातमा छन्, मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्। तपाईंको मुहार आफ्नो दासमाथि प्रज्वलित होस्, तपाईंको अचूक कृपामा मेरो उद्धार गर्नुहोस्। मैले शर्माउनु नपरोस्, हे परमप्रभु, किनकि मैले तपाईंमा पुकारा गरेको छु। तर दुष्टहरू शर्ममा परून्, र पातालमा जाऊन् र त्यहीँ चूपचाप रहून्। तिनीहरूका झूटा ओठहरू बन्द भइजाऊन्, किनकि तिनीहरू धर्मी जनका विरुद्धमा तिरस्कार र अहङ्कारसाथ बोल्छन्।
भजनसंग्रह 31:9-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, ममाथि कृपालु हुनुहोस्; किनकि म सङ्कष्टमा परेको छु; शोकले गर्दा मेरा आँखा कमजोर भएका छन्, अनि मेरो प्राण र मेरो शरीर शोकमा छन्। मेरो जीवन वेदनामा जलेको छ, र मेरो आयुचाहिँ सुस्केरामा बितेका छन्; मेरो अधर्मको कारणले मेरो बल घटेको छ, र मेरा हाडहरू कमजोर भइसकेका छन्। मेरा सारा शत्रुहरूका कारणले गर्दा, म मेरा छिमेकीहरूका निम्ति घृणाको पात्र बनेको छु, मेरा सबै हितैषी मित्रहरूका निम्ति म एक डरको कारण भएको छु, मलाई बाटोमा देख्नेहरू, मबाट टाढा भाग्दछन्। मरिसकेको मानिसलाई झैँ मलाई तिनीहरूले बिर्सेका छन्; म एक फुटेको भाँडाझैँ भएको छु। किनकि धेरैले मेरो विरुद्धमा कानेखुसी गरेको मैले सुनेको छु, “चारैपट्टि मेरो निम्ति खतरा मात्र छ।” तिनीहरूले मेरो विरुद्धमा जाल बनाउँदछन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्दछन्। तर हे याहवेह, म तपाईंमा नै भरोसा राख्छु; म भन्छु, “तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।” मेरा समयहरू तपाईंकै हातमा छन्; मलाई खेदो गर्ने, मेरा शत्रुहरूका हातबाट मलाई छुटाउनुहोस्! तपाईंको मुहार आफ्नो सेवकमाथि चम्काउनुहोस्; तपाईंको अचुक प्रेममा मलाई बचाउनुहोस्! हे याहवेह, मैले शर्माउन नपरोस्, किनकि मैले तपाईंलाई पुकारेको छु; तर दुष्टहरू शर्ममा परून्, र तिनीहरू पातालमा चुपचाप रहून्। तिनीहरूका झूटो बोल्ने ओठहरू चुप होऊन्, किनकि घमण्ड र अवहेलनासाथ, तिनीहरू धर्मीहरूका विरुद्धमा अहङ्कारी भई बोल्छन्।
भजनसंग्रह 31:9-18 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन्, यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्। यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछन्। मेरो घोक्रो र भूँडीहरू दुखिरहेकोछ। मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ। मेरो उमेर नैराश्यमा बितिरहेछ। मेरा सङ्कटहरूले मेरो शक्ति नाश गर्दै लाँदैछ। मेरो शक्तिले मलाई छोड्दै गइरहेछ। मेरा शत्रुहरूले मलाई हेला गर्छन्, अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्। सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्। तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्, तिनीहरू मलाई नदेखे झैं भान गर्छन्। मानिसहरूले आफ्नो हराएको औजार जस्तै पूर्ण प्रकारले मलाई बिर्सेकाछन्। मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु। तिनीहरू मेरा विरोधीहरू भए, तिनीहरूले मलाई मार्ने योजना गरे। तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु। तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ। मेरो जीवन तपाईंको हातमा छ, मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्। कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्। मलाई तिनीहरूबाट बचाउनुहोस्। कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्। ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्! हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें। यसर्थ म असन्तुष्ट हुँदिन। दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्। तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्। ती दुष्टहरू अंहकार गर्छन् अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्। ती दुष्टहरू घमण्डी छन्, तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्।
भजनसंग्रह 31:9-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! ममाथि दया गर्नुहोस्, किनभने म कष्टमा परेको छु। रुँदा-रुँदा मेरा आँखा थाकेका छन् र म पूरा हैरान भएको छु। अफसोसले मलाई थकाइ लागेको छ, रोएकाले मेरो आयु घटेको छ, मेरो कष्टले मलाई कमजोर पारेको छ, मेरा हड्डीहरू पनि कमजोर भएर जाँदैछन्। मेरा सबै शत्रुहरूले विशेषगरी मेरा छिमेकीहरूले मलाई घृणा गर्छन्, मलाई चिन्नेहरू मसँग डराउँछन् र मलाई बाटोमा देखेर तिनीहरू भाग्छन्। सबैले मलाई भुलिसके, मानिलिऊँ कि म मरेको छु, फ्याँकिदिएको वस्तुजस्तो मेरो हाल भएको छ। धेरै शत्रुहरूले कानेखुसी गरेको म सुन्दछु, डरले मलाई चारैपट्टि घेरेको छ। मलाई मार्ने जाल गरेर तिनीहरूले मेरो विरुद्ध युक्ति गर्दै छन्। तर हे परमप्रभु, मेरो भरोसा तपाईंमा छ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म सधैँ तपाईंको हेरचाहमा छु, मेरा शत्रुहरूदेखि र मलाई सताउनेहरूबाट मलाई बचाउनुहोस्। दयासाथ आफ्नो दासलाई हेर्नुहोस्, आफ्नो अटुट प्रेममा मलाई बचाउनुहोस्। परमप्रभु, म तपाईंलाई पुकार्दछु; मेरो अपमान हुन नदिनुहोस्। दुष्टहरूको अपमान होस्, चुपचाप तिनीहरू मृत्यु-लोकमा जाऊन्। ती झूटा बोल्नेहरू, सबै घमण्डी र अहङ्कारीहरू, ज-जसले धर्मीहरूको विरुद्धमा घृणा गरेर बोल्छन्– तिनीहरूलाई चुप पार्नुहोस्।