YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 22:14-31

भजनसंग्रह 22:14-31 NNRV

म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीका जोर्नीहरू फुस्‍केका छन्‌। मेरो मुटु मैनजस्‍तै भइसकेको छ, मेरो छातीभित्र त्‍यो पग्‍लेको छ। माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ, र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्‍युको धूलोमा मिलाउनुभएको छ। कुकुरहरू मेरो चारैपट्टि छन्‌, कुकर्मीहरूको समूहले मलाई घेरेको छ, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेड़ेका छन्‌। मेरा सबै हाड़हरू म गन्‍न सक्‍छु, मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्‌। तिनीहरू मेरा वस्‍त्रहरू आपसमा बाँड्‌छन्‌, र मेरो पोशाकको निम्‍ति तिनीहरूले चिट्ठा हाल्‍छन्‌। तर हे परमप्रभु, तपाईंचाहिँ टाढ़ा नहुनुहोस्‌! हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्‌! मेरो प्राणलाई तरवारबाट, र मेरो अमूल्‍य ज्‍यानलाई कुकुरहरूका पन्‍जाबाट उद्धार गर्नुहोस्‌। सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस्‌, र जङ्गली साँढ़ेका सीङहरूबाट मलाई बचाउनुहोस्‌। म मेरा भाइहरूका सामुन्‍ने तपाईंको नाउँ घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु। परमप्रभुको भय मान्‍नेहरू जतिले उहाँको प्रशंसा गर। याकूबका सबै सन्‍तान हो, उहाँको महिमा गर। हे इस्राएलका सबै सन्‍तान हो, उहाँको भक्ति गर। किनकि उहाँले पीडितको दु:खलाई तुच्‍छ ठान्‍नुभएको छैन, न घृणाको दृष्‍टिले हेर्नुभएको छ। उहाँले आफ्‍नो मुहार त्‍यसबाट लुकाउनुभएको छैन, तर त्‍यसले सहायताको निम्‍ति पुकारा गर्दा उहाँले सुन्‍नुभएको छ। ठूलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईं नै हुनुहुन्‍छ, तपाईंको डर राख्‍नेहरूका सामुन्‍ने म आफ्‍नो भाकल पूरा गर्नेछु। गरीबहरू खाएर तृप्‍त हुनेछन्‌, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्‌। तिमीहरूका हृदय सदा जीवित रहून्‌! समस्‍त पृथ्‍वीका सबै जातिहरूले स्‍मरण गर्नेछन्‌, र परमप्रभुतिर फर्कनेछन्‌। जाति-जातिका सबै परिवारहरूले उहाँलाई दण्‍डवत्‌ गर्नेछन्‌। किनभने राज्‍य त परमप्रभुकै हो, र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्‍छ। पृथ्‍वीका सबै धनीहरूले भोज गर्नेछन्‌, आराधना गर्नेछन्‌, जस-जसले आफ्‍नो प्राण बचाउन सक्‍दैनन्‌, जो धूलोमा मिलिजानेछन्‌, ती सबै उहाँको सामुन्‍ने घोप्‍टो पर्नेछन्‌। भावी सन्‍तानले उहाँको सेवा गर्नेछन्‌, भावी पुस्‍तालाई परमप्रभुको बारेमा बताइनेछ। अहिलेसम्‍म जन्‍म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्‌— किनकि उहाँले यो गर्नुभएको छ।