YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:1-56

भजनसंग्रह 119:1-56 NNRV

धन्‍यका हुन्‌ तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्‍यवस्‍थामा चल्‍दछन्‌। धन्‍यका हुन्‌ तिनीहरू, जसले उहाँका कानून पालन गर्दछन्‌, र उहाँलाई सम्‍पूर्ण हृदयले खोज्‍दछन्‌। तिनीहरूले कुनै अधर्म गर्दैनन्‌, उहाँका मार्गमा तिनीहरू हिँड्‌दछन्‌। तपाईंले आदेशहरू यस हेतुले दिनुभयो, कि हामी तिनलाई पूरा-पूरा पालन गरौं। तपाईंका विधिहरू पालन गर्नलाई, मेरो आचरण दृढ़ भइदिए कति असल हुनेथियो! तब तपाईंका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्नेथिइनँ। जब म तपाईंका धार्मिक नियमहरू सिक्‍तछु, तब म सोझो मनले तपाईंको प्रशंसा गर्नेछु। म तपाईंका विधिहरू पालन गर्नेछु, मलाई पूर्ण रूपले नत्‍याग्‍नुहोस्‌। जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो। म आफ्‍नो सम्‍पूर्ण हृदयले तपाईंलाई खोज्‍छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्‌। तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। हे परमप्रभु, तपाईंको प्रशंसा होस्‌, तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌। मैले मेरा ओठले तपाईंको मुखबाट निस्‍केका सबै नियमहरूको वर्णन गरेको छु। धेरै धन-सम्‍पत्तिमा आनन्‍दित हुने मानिसजस्‍तै, म तपाईंका कानूनहरू पालन गर्नमा हर्षित हुन्‍छु। तपाईंका आदेशहरूमाथि म मनन गर्छु, र तपाईंका शिक्षामा म ध्‍यान दिनेछु। म तपाईंका विधिहरूमा आनन्‍द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ। आफ्‍नो दासको उपकार गर्नुहोस्‌, र म जीवित रहनेछु, र तपाईंको वचन पालन गर्नेछु। मेरा आँखा खोलिदिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाका उदेकका कुराहरू देख्‍न सकूँ। म त पृथ्‍वीमा एक प्रवासी हुँ, तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्‌। तपाईंका नियमहरू जान्‍नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्‍छ। तपाईं अहङ्कारीहरूलाई हप्‍काउनुहुन्‍छ, जो श्रापित छन्‌, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्‌छन्‌। गिल्‍ला र लाञ्‍छना मबाट हटाइदिनुहोस्‌, किनकि म तपाईंका कानूनहरू पालन गर्दछु। शासकहरू बसेर मेरो विरुद्धमा कुरा गर्छन्‌, तापनि तपाईंको दासले तपाईंका विधिमाथि मनन गर्नेछ। तपाईंका कानूनहरू मेरो आनन्‍द हुन्‌, ती मेरा सल्‍लाहकार हुन्‌। मेरो प्राण धूलोमा मिलेको छ, आफ्‍नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्‌। मैले आफ्‍नो आचरण तपाईंलाई खुलस्‍त गरिदिएँ, र तपाईंले जवाफ दिनुभयो। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌। तपाईंका आदेशहरूका शिक्षा म बुझ्‍न सकूँ। तब तपाईंका उदेकका कामहरूमाथि म मनन गर्नेछु। शोकले गर्दा मेरो प्राण पग्‍लन्‍छ, तपाईंको वचनअनुसार मलाई बलियो तुल्‍याउनुहोस्‌। छलपूर्ण मार्गबाट मलाई अलग्‍ग राखिदिनुहोस्‌, तपाईंको व्‍यवस्‍थाद्वारा ममाथि अनुग्रही हुनुहोस्‌। मैले त सत्‍यताको मार्ग छानेको छु, तपाईंका नियमहरू मैले मेरो सामुन्‍ने राखेको छु। तपाईंका कानूनहरूमा म स्‍थिर रहन्‍छु, हे परमप्रभु, मलाई शर्ममा पर्न नदिनुहोस्‌। म तपाईंका आज्ञाहरूको मार्गमा दौड़न्‍छु, किनकि तपाईंले मेरो हृदयलाई स्‍वतन्‍त्र पारिदिनुभएको छ। हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्‌, र अन्‍त्‍यसम्‍म म ती पालन गर्नेछु। मलाई समझशक्ति दिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाअनुसार चल्‍नेछु, अनि सम्‍पूर्ण हृदयले त्‍यो पालन गर्नेछु। तपाईंका आज्ञाहरूको मार्गमा मलाई चलाउनुहोस्‌, किनकि त्‍यसैमा म हर्षित हुन्‍छु। मेरो हृदयलाई तपाईंका कानूनतिर फर्काउनुहोस्‌, स्‍वार्थपूर्ण लाभतिर होइन। व्‍यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्‌, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। तपाईंका दासलाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्‌, र तपाईंको भय मानिओस्‌। जुन अपमानबाट म डराउँछु, त्‍यो मबाट हटाइदिनुहोस्‌, किनकि तपाईंका नियमहरू उत्तम छन्‌। हेर्नुहोस्‌, म तपाईंका आदेशहरूको कत्ति अभिलाषी छु, तपाईंको धार्मिकतामा मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। हे परमप्रभु, तपाईंको अचूक कृपा मलाई मिलोस्‌, र तपाईंले प्रतिज्ञा गर्नुभएको उद्धार मकहाँ आओस्‌। तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्‍नेछु, किनकि म तपाईंको वचनमा भरोसा राख्‍तछु। सत्‍यको वचन मेरो मुखबाट नखोसिदिनुहोस्‌, किनकि मैले तपाईंका नियमहरूमा आशा राखेको छु। म तपाईंको व्‍यवस्‍था सदासर्वदा पालन गर्नेछु। म स्‍वतन्‍त्र भएर हिँड्‌नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु। म राजाहरूका समक्ष तपाईंका कानूनहरूका विषयमा बोल्‍नेछु, अनि म लाजमा पर्नेछैनँ। म तपाईंका आज्ञाहरूमा आनन्‍दमग्‍न हुन्‍छु, किनकि म तिनलाई प्रेम गर्दछु। मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पसार्छु, र तपाईंका विधिहरूमाथि मनन गर्दछु। आफ्‍नो दासलाई दिनुभएको वचन सम्‍झना राख्‍नुहोस्‌, किनकि तपाईंले मलाई आशा प्रदान गर्नुभएको छ। मेरो सङ्कष्‍टमा मेरो सान्‍त्‍वना यसैबाट छ, तपाईंको प्रतिज्ञाले मेरो प्राणलाई सुरक्षित राख्‍तछ। अहङ्कारीहरूले मेरो विनाअवरोध ठट्टा गरेका छन्‌, तर तपाईंको व्‍यवस्‍थाबाट म हटेको छैनँ। तपाईंका पुराना नियमहरू म स्‍मरण गर्दछु, अनि हे परमप्रभु, म तिनमा सान्‍त्‍वना पाउँछु। तपाईंको व्‍यवस्‍था त्‍याग्‍ने दुष्‍टहरूले गर्दा, मलाई आक्रोशले अँठ्याएको छ। म जहाँ बसोबास गरे पनि, तपाईंका विधिहरू मेरो भजनको विषयवस्‍तु भएका छन्‌। हे परमप्रभु, म राती तपाईंका नाउँको स्‍मरण गर्दछु, अनि तपाईंको व्‍यवस्‍था म पालन गर्नेछु। यो मेरो चलन हुन गएको छ, म तपाईंका आदेशहरू पालन गर्छु।