तिनीहरू धन्यका हुन्, जो निर्दोष जीवन जिउँछन्,
जो याहवेहका व्यवस्थाअनुसार हिँड्छन्।
तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्,
र आफ्ना सारा हृदयले उहाँलाई खोज्दछन्।
तिनीहरूले केही खराबी गर्दैनन्;
तर उहाँका मार्गलाई पछ्याउँछन्।
तपाईंका विधिहरू होशियारपूर्वक पालन गरौँ भनी
तपाईंले हामीलाई आज्ञा दिनुभयो।
अहो, तपाईंका उर्दीहरू पालन गर्नलाई,
मेरा मार्गहरू दृढ भइदिए कति असल हुनेथियो!
तब तपाईंका सम्पूर्ण आज्ञाहरू पालन गरेर
म शर्ममा पर्नेथिइनँ।
जब म तपाईंका धार्मिक नियमहरू सिक्दछु,
तब म साँचो हृदयले तपाईंको प्रशंसा गर्नेछु।
म तपाईंका उर्दीहरू पालन गर्नेछु;
मलाई कहिल्यै नत्याग्नुहोस्!
जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ?
तपाईंको वचनअनुसार जीवन बिताएर नै हो।
मेरो सारा हृदयले तपाईंलाई खोज्दछु;
तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
तपाईंको विरुद्धमा पाप नगरूँ भनेर,
तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु।
हे याहवेह, तपाईंको प्रशंसा होस्;
तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!
तपाईंका मुखबाट निस्केका
सम्पूर्ण नियमहरू मैले मेरा ओठले वर्णन गरेको छु।
कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ,
म तपाईंका कानुनहरू पालन गर्नमा नै आनन्दित हुन्छु।
म तपाईंका विधिहरूमा मनन गर्छु,
र तपाईंका मार्गहरूमा ध्यान दिन्छु।
म तपाईंका उर्दीहरूमा रमाउनेछु;
म तपाईंको वचन बिर्सनेछैनँ।
आफ्नो सेवकलाई दया गर्नुहोस्;
ताकि म जीवित रहन सकूँ र तपाईंको वचन पालन गर्न सकूँ।
मेरा आँखाहरू खोलिदिनुहोस्,
ताकि म तपाईंको व्यवस्थाबाट उदेकका कुराहरू देख्न सकूँ।
यस पृथ्वीमा म एउटा परदेशी हुँ;
तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्!
हरपल तपाईंका नियमहरू जान्ने तिर्सनाले
मेरो प्राण छटपटिन्छ।
ती अहङ्कारीहरू, जो श्रापित छन्;
र तपाईंका आज्ञाहरूबाट भड्किएर हिँड्छन्; तिनीहरूलाई तपाईंले हप्काउनुहुन्छ।
मबाट तिनीहरूका गिल्ला र तिरस्कार हटाउनुहोस्;
किनकि म तपाईंका कानुनहरू पालन गर्दछु।
शासकहरू एकसाथ बसेर मेरो विरुद्धमा जाल रचे तापनि
तपाईंको सेवकले तपाईंकै उर्दीहरूमा ध्यान दिनेछ।
तपाईंका कानुनहरू मेरा आनन्द हुन्;
ती मेरा सल्लाहकारहरू हुन्।
म धुलोमा लम्पसार परेको छु;
आफ्नो वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
मैले मेरा चालचलनहरू बताएँ, र तपाईंले मलाई जवाफ दिनुभयो;
मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!
मलाई तपाईंका विधिहरूका अर्थ बुझ्ने बनाउनुहोस्;
ताकि म तपाईंका अचम्मका कामहरूमा ध्यान दिन सकूँ।
शोकले गर्दा मेरो प्राण थाकेको छ;
आफ्नो वचनद्वारा मलाई बलियो पार्नुहोस्!
मलाई छलपूर्ण मार्गबाट जोगाउनुहोस्;
ममाथि अनुग्रही बन्नुहोस् र मलाई तपाईंको व्यवस्था सिकाउनुहोस्!
मैले विश्वासयोग्यताको मार्ग छानेको छु;
मैले मेरो हृदय तपाईंका नियमहरूमा लगाएको छु।
हे याहवेह, म तपाईंका कानुनहरूमा दृढ छु;
मलाई शर्ममा पर्न नदिनुहोस्!
म तपाईंका आज्ञाहरूका मार्गमा दगुर्छु;
किनकि तपाईंले मेरो समझलाई फराकिलो तुल्याउनुभएको छ।
हे याहवेह, मलाई तपाईंका उर्दीहरू पालन गर्न सिकाउनुहोस्;
ताकि म अन्त्यसम्मै ती पालन गर्न सकूँ।
मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ,
र सम्पूर्ण हृदयले म त्यसको पालन गर्न सकूँ।
मलाई तपाईंका आज्ञाहरूका मार्गमा डोर्याउनुहोस्;
किनकि म त्यसैमा प्रसन्न हुन्छु।
मेरो हृदय तपाईंका कानुनहरूतर्फ फर्काइदिनुहोस्!
स्वार्थी लाभतर्फ होइन।
व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखाहरू फर्काइदिनुहोस्;
तपाईंको वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
आफ्ना सेवकलाई गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्;
ताकि तपाईंको भय रहोस्!
जुन अपमानको मलाई डर छ, त्यो हटाउनुहोस्;
किनकि तपाईंका नियमहरू असल छन्!
हेर्नुहोस्, म तपाईंका विधिहरूको कति अभिलाषी छु!
तपाईंको धार्मिकतामा मेरो जीवनको रक्षा गर्नुहोस्!
हे याहवेह, मलाई तपाईंका अचुक प्रेम मिलोस्,
र तपाईंको प्रतिज्ञाअनुसार तपाईंको मुक्ति मकहाँ आओस्!
तब मलाई गिल्ला गर्नेहरूलाई म जवाफ दिन सकूँ;
किनकि म तपाईंको वचनमा भरोसा राख्दछु।
तपाईंको सत्य वचन मेरा मुखबाट कहिल्यै नखोसिदिनुहोस्;
किनकि मैले तपाईंका नियमहरूमा आफ्नो आशा राखेको छु।
म तपाईंको व्यवस्था निरन्तर,
सदासर्वदा पालन गर्नेछु।
म स्वतन्त्र भएर हिँड्डुल गर्नेछु;
किनकि मैले तपाईंका विधिहरूको खोजी गरेको छु।
म तपाईंका कानुनहरूका विषयमा राजाहरूका सामु बोल्नेछु,
र म लाजमा पर्नेछैनँ।
किनकि म तपाईंका आज्ञाहरूमा रमाउँछु;
किनकि म तिनलाई प्रेम गर्दछु।
मैले प्रेम गरेका तपाईंका आज्ञाहरूतर्फ मेरा आफ्ना हातहरू उचाल्छु;
ताकि म तपाईंका उर्दीहरूमाथि मनन गर्न सकूँ।
तपाईंका सेवकलाई दिनुभएको वचन सम्झना गर्नुहोस्;
किनकि तपाईंले मलाई आशा दिनुभएको छ।
मेरो कष्टमा मेरो सान्त्वना यही छ:
तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ।
अहङ्कारीहरू निर्दयी भएर मेरो हाँसो गर्छन्;
तर म तपाईंका व्यवस्थाबाट तर्केर जादिनँ।
हे याहवेह, म तपाईंका प्राचीन कालदेखिका नियमहरू स्मरण गर्दछु,
अनि म तिनमा सान्त्वना पाउँदछु।
तपाईंको व्यवस्था त्याग्ने दुष्टहरूले गर्दा,
मलाई असाध्यै रिस उठेको छ।
म जहाँ बसोबास गरेँ तापनि
तपाईंका उर्दीहरू मेरा गीतका विषयवस्तु भएका छन्।
हे याहवेह, रातको समयमा म तपाईंको नामको स्मरण गर्दछु,
ताकि म तपाईंको व्यवस्था पालन गर्न सकूँ।
तपाईंका विधिहरू पालन गर्नु नै
मेरो आचरण हुन गएको छ।