YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 118:15-24

भजनसंग्रह 118:15-24 NNRV

धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्‍जन हुन्‍छ: “परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ! परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ।” म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु। परमप्रभुले मलाई कठोरतासाथ ताड़ना दिनुभएको छ, तर उहाँले मलाई मृत्‍युको वशमा सुम्‍पनुभएको छैन। मेरो निम्‍ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्‌, तीभित्र प्रवेश गरेर म परमप्रभुमा धन्‍यवाद चढ़ाउनेछु। परमप्रभुको ढोका यही हो, भक्तहरू यसभित्र प्रवेश गर्दछन्‌। तपाईंले दिनुभएका मेरा प्रार्थनाहरूका उत्तरका निम्‍ति म तपाईंलाई धन्‍यवाद दिनेछु, तपाईं मेरो उद्धार हुनुभएको छ। जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ। आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्‍दित होऔं र रमाऔं।