भजनसंग्रह 118:15-24
भजनसंग्रह 118:15-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरका प्रजाका पालहरूमा भएको विजयको आनन्दको स्वर सुन: “परमप्रभुको परमशक्तिले यो भएको हो। उहाँको शक्तिले, युद्ध गर्ने उहाँको परमशक्तिले हामीलाई विजय दिएको हो।” म मर्नेछैनँ, त्यसको सट्टामा म बाँचिरहनेछु र परमप्रभुले जे गर्नुभएको छ, त्यो जोडले भन्नेछु। उहाँले मलाई कठोर दण्ड त दिनुभयो, तर मेरो मृत्यु भने हुन दिनुभएन। मन्दिरका ढोकाहरू मलाई खोलिदेऊ, म भित्र पसेर परमप्रभुलाई धन्यवाद चढाउनेछु। यो परमप्रभुको ढोका हो, धर्मीहरूले मात्र यसभित्र पस्न पाउँछन्। परमप्रभु, म तपाईंको प्रशंसा गर्छु किनभने तपाईंले मेरो बिन्ती सुन्नुभएको छ र मलाई विजय दिनुभएको छ। घर बनाउनेहरूले बेकामको भनेर फ्याँकेको ढुङ्गाचाहिँ शिर-ढुङ्गा भएको छ। यो परमप्रभुले गर्नुभएको हो; यो कति उदेकको कुरा छ! आज परमप्रभुको विजयको दिन हो, हामी आनन्द गरौं र उत्सव मनाऔं।
भजनसंग्रह 118:15-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्जन हुन्छ: “परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ! परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ।” म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु। परमप्रभुले मलाई कठोरतासाथ ताड़ना दिनुभएको छ, तर उहाँले मलाई मृत्युको वशमा सुम्पनुभएको छैन। मेरो निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्, तीभित्र प्रवेश गरेर म परमप्रभुमा धन्यवाद चढ़ाउनेछु। परमप्रभुको ढोका यही हो, भक्तहरू यसभित्र प्रवेश गर्दछन्। तपाईंले दिनुभएका मेरा प्रार्थनाहरूका उत्तरका निम्ति म तपाईंलाई धन्यवाद दिनेछु, तपाईं मेरो उद्धार हुनुभएको छ। जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा आश्चर्यमय छ। आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔं र रमाऔं।
भजनसंग्रह 118:15-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मीहरूका पालहरूमा हर्ष र विजयको सोर गुञ्जिन्छ: “याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्! याहवेहका दाहिने बाहुली उच्च पारिएको छ; याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्।” म मर्नेछैनँ, तर जीवित रहनेछु, र याहवेहले के गर्नुभएको छ, त्यो घोषणा गर्नेछु। याहवेहले मलाई कठोर दण्ड दिनुभएको छ; तर उहाँले मलाई मर्न दिनुभएको छैन। मेरा निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्; म तीभित्र पस्नेछु र याहवेहलाई धन्यवाद दिनेछु। याहवेहको ढोका यही हो, जसबाट धर्मी जनहरू प्रवेश गर्नेछन्। म तपाईंलाई धन्यवाद दिनेछु; किनकि तपाईंले मलाई जवाफ दिनुभयो, तपाईं मेरो मुक्ति हुनुभएको छ। जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो; यो याहवेहले गर्नुभएको हो; अनि यो हाम्रो दृष्टिमा आश्चर्यमय छ। आजको दिन याहवेहले सृजनुभएको हो; यसमा हामी आनन्द मनाऔँ र रमाऔँ।
भजनसंग्रह 118:15-24 पवित्र बाइबल (NERV)
तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ। परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो। परमप्रभुको पाखुराहरू विजयी भएर उठे। परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो। म बाँच्ने छु मर्ने छैन अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु। परमप्रभुले मलाई दण्ड दिनु भयो, तर उहाँले मलाई मर्न दिनु भएन। असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु। तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्। विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्छन्। परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु। मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु। जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्। त्यही मूल ढुङ्गा हुन गयो। परमप्रभुले यस्तो बनाउनु भयो। अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं। आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो। फेरि आज प्रफुल्लित र खुशी हौं!