YouVersion लोगो
खोज आइकन

मर्कूस 8:31-38

मर्कूस 8:31-38 NNRV

“मानिसको पुत्रले धेरै दुःख भोग्‍नु, र धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट इन्‍कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्‌नु आवश्‍यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्‍नुभयो। यसरी उहाँले यो कुरा प्रष्‍टै भन्‍नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे। तर फर्केर आफ्‍ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्‍काउनुभयो, “ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्‍वरपट्टि छैन, तर मानिसपट्टि छ।” तब उहाँले आफ्‍ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस मपछि लाग्‍ने इच्‍छा गर्दछ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्दछ, त्‍यसले त्‍यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्‍ति आफ्‍नो प्राण गुमाउनेले त्‍यो बचाउनेछ। किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ? अनि यस व्‍यभिचारी र पापी पुस्‍तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्‍ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्‍यसदेखि शर्माउनेछ।”