अनि हेरोदकहाँ फर्की नजानू भन्ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्म त्यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।” अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्रदेशमा राती नै गइहाले, र हेरोदको मृत्यु नहोउञ्जेल त्यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।” तब ज्योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्यस इलाका भित्रका दुई वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए। तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो, “रामामा एउटा शब्द सुनियो, डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्ना बालकहरूका लागि रोइरहेकी, सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्।” तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने, “उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्।” तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के। तर यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्य गरिरहेका छन् भन्ने सुनेर तिनी त्यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए। तिनी गएर नासरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”
मत्ती 2 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 2:12-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू