मत्ती 2:12-23

मत्ती 2:12-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के। तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्‍म त्‍यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।” अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्रदेशमा राती नै गइहाले, र हेरोदको मृत्‍यु नहोउञ्‍जेल त्‍यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्‍नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्‍ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।” तब ज्‍योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्‍योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्‍यस इलाका भित्रका दुई वर्ष र त्‍यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए। तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो, “रामामा एउटा शब्‍द सुनियो, डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्‍ना बालकहरूका लागि रोइरहेकी, सान्‍त्‍वना तिनले इन्‍कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्‌।” तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्‍वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने, “उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्‍नेहरू मरिसकेका छन्‌।” तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के। तर यहूदियामा आफ्‍ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्‍य गरिरहेका छन्‌ भन्‍ने सुनेर तिनी त्‍यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए। तिनी गएर नासरत भन्‍ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:12-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस रात हेरोदकहाँ नजानू भन्‍ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। अनि तिनीहरू गइसकेपछि प्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्टमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीँ बस। किनकि हेरोदले बालकलाई मार्नका लागि खोज्नेछ।” यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राति नै इजिप्टतिर प्रस्थान गरे, जहाँ तिनीहरू हेरोदको मृत्यु नहोउन्जेलसम्म रहे। अनि यसरी परमेश्‍वरले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।” जब हेरोदले आफू ज्योतिषीहरूद्वारा ठगिएको थाहा पाए, तब तिनी धेरै रिसाए। अनि ज्योतिषीहरूद्वारा ठिक पत्ता लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका सबै बालकहरूलाई मार्ने आदेश दिए। तब यर्मिया अगमवक्ताद्वारा भनिएको यो वचन पूरा भयो: “रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूका निम्ति रोएकी, र तिनी शान्त हुन नमानेकी; किनकि तिनीहरू अब रहेनन्।” हेरोदको मृत्युपछि प्रभुका एउटा दूत इजिप्टमा सपनामा योसेफकहाँ देखा परे, अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको देशमा जाऊ। किनकि बालकको प्राण लिन चाहनेहरू मरिसकेका छन्।” यसैले तिनी उठे; बालक र तिनकी आमालाई साथमा लिएर इस्राएलको देशमा गए। तर जब तिनले हेरोदको ठाउँमा तिनका छोरा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्‍ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको इलाकामा गए। तिनी नासरत भन्‍ने सहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँ नासरी कहलाइनुहुनेछ।”

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:12-23 पवित्र बाइबल (NERV)

तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई “हेरोदकहाँ फर्केर नजाऊ” भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अर्कै बाटो भएर आफ्ना निजदेशमा फर्किए। ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यही बस्नु।” अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे। तिनीहरूले रातीनै घर छोडे। हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।” ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ वर्षको अवधि बितेको थियो। अनि हेरोदले दुइ वर्षर त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए। तब यर्मिया अगमवक्ताद्वारा परमेश्वरले भन्नुभएको वचन सत्य भयो: “रामामा एउटा स्वर सुनियो, रूवाबासी र आलाप-विलापको। राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन, शान्त बन्न तिनले अस्वीकार गरिन्, किनकि तिनका बालकहरू अब जीवित थिएनन्।” हेरोद मरेपछि, परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे। यो घट्ना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए। स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।” त्यसपछि यूसुफ उठे, बालक र उहाँकी आमालाई लिएर इस्राएल तर्फ आए। तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने। आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए। यसकारण यूसुफ त्यहाँ जान डराए। सपनामा पनि तिनलाई चेताउनी भयो। त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए। यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरी भनिनेछ।”

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:12-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पछिबाट तिनीहरूले सपनामा ‘हेरोदकहाँ फर्केर नजानू’ भन्‍ने परमेश्‍वरको आज्ञा पाए र तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देश फर्के। ती ज्‍योतिषीहरू गइसकेपछि योसेफले सपनामा प्रभु परमेश्‍वरका स्‍वर्गदूतलाई देखे र स्‍वर्गदूतले उनलाई भने, “तुरुन्‍तै आमा-छोरालाई लिएर मिश्रदेशतिर गइहाल। अनि मैले फर्केर आउनू नभनुञ्‍जेल तिमीहरू त्‍यहीँ नै बस्‍नू किनभने हेरोदले बालकलाई मार्ने विचार गरिरहेको छ।” यस्‍तो सपना देखेपछि योसेफ आमा-छोरालाई लिएर राती नै मिश्रदेशतिर लागे। अनि हेरोद नमरुञ्‍जेल तिनीहरू त्‍यहीँ नै बसे। यसरी परमप्रभुले अगमवक्तालाई भन्‍न लाउनुभएको यो कुरा पूरा हुन आएको हो– “मैले मिश्रदेशबाट आफ्‍नो छोरालाई बोलाएँ।” ज्‍योतिषीहरूले आफूलाई छकाएछन् भन्‍ने कुरा थाहा पाएर हेरोद राजा रिसले चुर भए। उनले यसो गर्न लगाए। तारा उदाएको समय ज्योतिषीहरूबाट थाहा पाएअनुसार उनले बेथलेहेम र त्‍यस वरपरका गाउँहरूमा भएका दुई वर्षसम्‍मका सबै बालकहरूलाई मार्न लगाए। त्‍यति बेला यर्मिया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– “रामामा खैलाबैला सुनिंदै छ, रुवाबासी र बिलौना। राहेल आफ्‍ना बालकहरूका निम्‍ति रोइरहेकी छिन्। तिनलाई कसैले पनि शान्‍त गराउन सकेनन् किनभने सबै बालक मरेका छन्।” हेरोद मरेपछि परमप्रभुका स्‍वर्गदूतले मिश्रदेशमा योसेफलाई सपनामा देखा परेर भने, “उठ, अब आमा-छोरालाई लिएर इस्राएलमा फर्क किनभने बालकलाई मार्न खोज्‍ने मानिस मरिसक्‍यो।” त्‍यसपछि योसेफ आमा-छोरालाई लिएर इस्राएल देशमा फर्के। तर हेरोदको छोरा अर्खिलाउस यहूदियाका राजा भएका छन् भन्‍ने सुनेर योसेफलाई त्‍यहाँ जान डर लाग्‍यो। अनि फेरि परमेश्‍वरबाट सपनामा चेतावनी पाएर उनीहरू गालील गए र त्‍यहीँ नासरत भन्‍ने सहरमा गएर बसे। यसरी नै अगमवक्ताले “उहाँलाई नासरी भनिनेछ,” भनेको कुरा पूरा भयो।

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्