YouVersion लोगो
खोज आइकन

मत्ती 13:36-49

मत्ती 13:36-49 NNRV

तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्‍टान्‍तको अर्थ हामीलाई बताइदिनुहोस्‌।” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो। खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो। सामा रोप्‍ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्‍त्‍य हो। खेतालाहरू स्‍वर्गदूतहरू हुन्‌। “जसरी सामा उखेलेर आगोमा भस्‍म गरिन्‍छ, युगको अन्‍त्‍यमा पनि त्‍यस्‍तै हुनेछ। मानिसको पुत्रले आफ्‍ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्‍येक थोक र दुष्‍ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्‍यबाट बटुल्‍नेछन्, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌। तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌। “स्‍वर्गको राज्‍य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्‍तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्‍दछ, र आनन्‍दित भएर ऊ जान्‍छ र आफूसित भएका सबै बेच्‍छ, र त्‍यो खेत किन्‍छ। “फेरि स्‍वर्गको राज्‍य असल मोतीहरू खोज्‍ने एउटा व्‍यापारीजस्‍तो हो। त्‍यसले एउटा बहुमूल्‍य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्‍यो मोती किन्‍यो। “स्‍वर्गको राज्‍य समुद्रमा हानेको एउटा जालजस्‍तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्‌। अनि जाल भरिएपछि मानिसहरूले त्‍यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्‍मा गरे, र खराब जतिलाई बाहिर फाले। युगको अन्‍त्‍यमा यस्‍तै हुनेछ, स्‍वर्गदूतहरूले आएर दुष्‍टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्