YouVersion लोगो
खोज आइकन

अय्‍यूब 27:1-12

अय्‍यूब 27:1-12 NNRV

तब अय्‍यूबले आफ्‍नो बहस फेरि सुरु गरे: “परमेश्‍वर जीवित हुनुभए झैँ जसले मेरो इन्‍साफ गर्नलाई इन्‍कार गर्नुभयो, सर्वशक्तिमान्‌को नाउँमा, जसले मेरो मन तीतो बनाइदिनुभयो। मेरो शरीरमा प्राण रहुञ्‍जेल, र परमेश्‍वरको सास मेरो नाकमा रहुञ्‍जेल, कुनै पनि असत्‍य वचन मेरो मुखबाट निस्‍कनेछैन, अनि मेरो जिब्रोले कुनै झूट बोल्‍नेछैन। तपाईंहरू ठीक हुनुहुन्‍छ भनी म कहिल्‍यै स्‍वीकार गर्ने छैनँ, म नमरुञ्‍जेल म आफ्‍नो ईमान्‍दारीलाई अस्‍वीकार गर्ने छैनँ। म ठीकै छु भन्‍ने मेरो दाबीलाई म कायम राख्‍नेछु, म बाँचुञ्‍जेल मेरो विवेकले मलाई दोष लगाउनेछैन। “मेरा शत्रुहरू दुष्‍टझैँ होऊन्, मेरा विरोधीहरू अन्‍यायीजस्‍तै। किनकि ईश्‍वरहीन मानिस नाश हुँदा त्‍यसको के आशा हुन्‍छ र जब परमेश्‍वरले त्‍यसको प्राण लिइहाल्‍नुहुन्‍छ? जब दु:ख त्‍यसमाथि आइलाग्‍छ, के परमेश्‍वरले त्‍यसको पुकारा सुन्‍नुहुन्‍छ? के त्‍यसले सर्वशक्तिमान्‌बाट आनन्‍द पाउँछ? र हर समय उहाँको नाउँको पुकारा गर्छ र? परमेश्‍वरको शक्तिको बारेमा म तपाईंहरूलाई सिकाउनेछु, सर्वशक्तिमान्‌को बाटोलाई म लुकाउनेछैनँ। तपाईंहरू सबैले यी कुरा देख्‍नुभएको छ, तपाईंहरू यस्‍ता व्‍यर्थका कुरा किन गर्नुहुन्‍छ?