YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:15-25

यूहन्‍ना 14:15-25 NNRV

“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ। यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ। “म तिमीहरूलाई टुहुरा छोड्‌नेछैनँ। म तिमीहरूकहाँ आउनेछु। अब केही समयपछि संसारले मलाई कहिल्‍यै देख्‍नेछैन, तर तिमीहरूले मलाई देख्‍नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ। त्‍यस दिन तिमीहरूले जान्‍नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु। मलाई प्रेम गर्ने त्‍यही हो जससँग मेरा आज्ञा छन्‌ र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्‍छ। म त्‍यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्‍यसकहाँ प्रकट गर्नेछु।” यहूदाले (इस्‍करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्‍नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्‍छ, र संसारलाई चाहिँ होइन?” येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “जसले मलाई प्रेम गर्छ, त्‍यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्‍यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्‍यसकहाँ आउनेछौं, र त्‍यससँग वास गर्नेछौं। मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्‍छौ, त्‍यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो। “यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ।