YouVersion लोगो
खोज आइकन

यर्मिया 51:15-46

यर्मिया 51:15-46 NNRV

“उहाँले पृथ्‍वीलाई आफ्‍नो सामर्थ्‍यले सृजनुभयो। उहाँले आफ्‍नो बुद्धिले संसारलाई स्‍थापित गर्नुभयो, आफ्‍नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो। उहाँ गर्जनुहुँदा आकाशमा पानीहरू गड्याङगुडुङ गर्छन्, उहाँले पृथ्‍वीको पल्‍लो छेउदेखि बादलहरू उठाउनुहुन्‍छ। उहाँले वृष्‍टिको साथ बिजुली चम्‍काउनुहुन्‍छ, र आफ्‍ना भण्‍डारहरूदेखि बतास चलाउनुहुन्‍छ। “हरेक मानिस बुद्धिहीन र ज्ञानरहित छ। हरेक सुनार त्‍यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्‍यसका प्रतिमाहरू झूटा छन्, तिनमा सास हुँदैन। ती व्‍यर्थका हुन्, ठट्टाका पात्र मात्र। तिनीहरूको न्‍याय हुँदा ती नष्‍ट हुनेछन्‌। उहाँ, जो याकूबका हिस्‍सा हुनुहुन्‍छ, यीजस्‍ता हुनुहुन्‍न, किनकि उहाँ नै आफ्‍नो निज उत्तराधिकारको कुलसमेत सारा थोकहरू बनाउने हुनुहुन्‍छ। सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो। “तँ मेरो युद्धको गदा, लड़ाइँको हतियार होस्‌। तँद्वारा म जातिहरूलाई टुक्रा-टुक्रा पार्छु, तँद्वारै म राज्‍यहरूलाई नाश गर्छु। तँद्वारा म घोड़ा र त्‍यसको सवारलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म रथ र सारथिलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म पुरुष र स्‍त्रीलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म बूढ़ा र जवान दुवैलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म युवक र युवतीलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म गोठाला र त्‍यसको बगाललाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म किसान र त्‍यसको गोरुलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म राज्‍यपाल र पदाधिकारीहरूलाई टुक्रा-टुक्रा पार्छु। “तिनीहरूले सियोनमा गरेका सबै खराबीको कारण म बेबिलोन र बेबिलोनियामा बस्‍ने सबै मानिसहरूलाई तेरै आँखाको सामुन्‍ने प्रतिफल दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “हे नाश गर्ने पहाड़, जसले सारा पृथ्‍वीलाई नाश गर्दछ, म तेरो विरुद्धमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “म मेरो हात तेरो विरुद्धमा पसार्नेछु, र तँलाई भीरबाट तल खसालिदिनेछु, र तँलाई डढ़ेलो लागेको पहाड़ तुल्‍याइदिनेछु। तँबाट एउटै ढुङ्गा पनि घरको कुने-ढुङ्गाको लागि लिइनेछैन, न त जग बसाल्‍नका लागि एउटा ढुङ्गो लिइनेछ। किनकि तँ सदाको निम्‍ति उजाड़ भइरहनेछस्,” परमप्रभु भन्‍नुहुन्‍छ। “देशमा एउटा झन्‍डा खड़ा गर! जाति-जातिहरूका बीचमा तुरही बजाओ! त्‍यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार गर। यी राज्‍यहरूलाई बेबिलोनको विरुद्धमा बोलाओ— आरारात, मिन्‍नी र अशकनज। त्‍यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर, सलहहरूका झुण्‍डझैँ घोड़ाहरू पठाओ। त्‍यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार पार— मादीहरूका राजा, उनका राज्‍यपाल र उनका सबै पदाधिकारीहरूलाई, र उनीहरूले शासन गरेका सारा देशलाई। देश थरथर काम्‍छ र मड़ारिन्‍छ, किनकि बेबिलोन देशलाई उजाड़ र कुनै मानिस नभएको बनाउनलाई परमप्रभुको अभिप्राय कायम रहन्‍छ। बेबिलोनका योद्धाहरूले लड़ाइँ गर्न छोड़ेका छन्, तिनीहरू त आफ्‍ना किल्‍लाभित्रै बस्‍छन्‌। तिनीहरूको बल घटिहाल्‍यो। तिनीहरू स्‍त्रीझैँ भएका छन्‌। त्‍यसका बस्‍ने ठाउँहरू आगो लगाइसकिएका छन्‌। त्‍यसका ढोकामा गजबारहरू भत्‍काइएका छन्‌। उसको जम्‍मै सहर लिइहाल्‍यो भनी बेबिलोनको राजालाई सुनाउन एउटा हुलाकी अर्कोकहाँ र एउटा समाचारवाहक अर्कोकहाँ दौड़ेर जान्‍छ, र साथै यो खबर पनि सुनाउँछन्, कि जँघारहरू लिइए, सिमसारहरूमा आगो लगाइए, सिपाहीहरू डरले आत्तिए।” सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “बेबिलोनकी छोरी कुल्‍चने समयमा दाइँ गर्ने खलाजस्‍तै भएकी छ। त्‍यसको कटनीको समय चाँड़ै आइपुग्‍नेछ।” “बेबिलोनको राजा नबूकदनेसरले हामीलाई खाइहाल्‍यो। त्‍यसले हामीलाई अलमल्‍ल पार्‍यो। हामीलाई त्‍यसले एउटा रित्तो भाँड़ाजस्‍तै तुल्‍याएको छ। त्‍यसले हामीलाई अजिङ्गरले झैँ निलिहाल्‍यो, र स्‍वादिलो थोकलाई झैँ हामीलाई निलेर आफ्‍नो पेट भर्‍यो, र त्‍यसपछि बान्‍ता गरेर हामीलाई फ्‍याँक्‍यो। हामीमाथि र हाम्रा छोराछोरीहरूमाथि गरेको उपद्रव बेबिलोनमाथि नै परोस्,” सियोनका बासिन्‍दाहरूले भन्‍छन्‌। “हाम्रो रगतको बदला बेबिलोनीहरूमाथि नै परोस्,” यरूशलेमले यसो भन्‍छ। यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ, “हेर्, म तेरो पक्ष लिनेछु, तेरो निम्‍ति बदला म नै लिनेछु। म त्‍यसको समुद्र सुकाइदिनेछु, त्‍यसको पानीका मूलहरू सुकाइदिनेछु। बेबिलोनचाहिँ भग्‍नावशेषको ढेर र स्‍यालहरूको अखड़ा, कोही मानिस नबस्‍ने ठाउँ, र त्रास र गिल्‍लाको पात्र हुनेछ। त्‍यसका सबै मानिसहरू सिंहझैँ गर्जन्‍छन्‌। तिनीहरू जवान सिंहझैँ कराउँछन्‌। तर जब तिनीहरू बिउँझन्‍छन्, तब म तिनीहरूका निम्‍ति भोज तयार पार्नेछु, र म तिनीहरूलाई मत्त्याउनेछु, र यसरी तिनीहरू हाँस्‍दै कराउनेछन्‌ र सधैँको निम्‍ति सुत्‍नेछन्‌ र जाग्‍नेछैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “म तिनीहरूलाई काटिनलाई लगिने थुमा, भेड़ा र बोकाहरूझैँ ल्‍याउनेछु। “सारा पृथ्‍वीको अहङ्कार, बेबिलोन कसरी लिइनेछ! जाति-जातिहरूका बीचमा बेबिलोन अति घृणित हुनेछ! समुद्र नै बेबिलोनमाथि उक्‍लेर आउनेछ, समुद्रका गर्जने छालहरूले त्‍यसलाई छोप्‍नेछन्‌। त्‍यसका नगरहरू सुक्‍खा ठाउँ, मरुभूमि, कोही पनि नबस्‍ने जग्‍गा हुनेछ। त्‍यताबाट भएर कोही मानिस जानेछैन। म बेबिलोनमा बेललाई दण्‍ड दिनेछु, र त्‍यसले निलेका कुरा म त्‍यसलाई नै मुखबाट बान्‍ता गर्न लाउनेछु। जातिहरू फेरि कहिल्‍यै त्‍यसकहाँ ओइरिनेछैनन्, र बेबिलोनको पर्खाल ढल्‍नेछ। “हे मेरा प्रजा, त्‍यसबाट निस्‍केर आओ। हरेक आ-आफ्‍नो ज्‍यान जोगाउनलाई भाग। परमप्रभुको भयानक रीसदेखि भाग। देशमा केही हल्‍ला सुन्‍दा हतोत्‍साहित नहोओ अथवा नडराओ। यस वर्षमा एक किसिमको होहल्‍ला, अनि अर्को वर्षमा अर्को किसिमको होहल्‍ला, देशमा उपद्रव र शासकको विरुद्धमा शासक उठेको होहल्‍ला।