YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 41:1-13

उत्‍पत्ति 41:1-13 NNRV

यसको पूरा दुई वर्षपछि फारोले एउटा सपना देखे। सपनामा उनी नील नदीको किनारमा उभिरहेका थिए। नील नदीबाट सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू निस्‍केर आए, र काँसको घारीमा चर्न लागे। त्‍यसपछि अरू सात वटा हड्डी र छाला मात्र भएका दुब्‍ला-दुब्‍ला गाईहरू नील नदीबाट तिनीहरूका पछिपछि निस्‍के, र नील नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए। ती हड्डी र छाला मात्र भएका दुब्‍ला-दुब्‍ला गाईहरूले ती सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। अनि फारो ब्‍यूँझे। त्‍यसपछि उनी फेरि निदाए, र अर्को एउटा सपना देखे। सात वटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका थिए। त्‍यसपछि सेप्रा र पूर्वीय बतासले ओइलाएका अरू सात वटा अन्‍नका बालाहरू पसाए। अनि ती सेप्रा बालाहरूले ती सात वटा असल र भरिला बालाहरूलाई निलिहाले। अनि फारो ब्‍यूँझे। त्‍यो सपना रहेछ भनी उनलाई थाहा भयो। बिहान उनको हृदयमा ठूलो चिन्‍ता पर्‍यो, अनि उनले मिश्रका सबै जादूगर र त्‍यहाँका सबै ज्ञानी पुरुषहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्‍ना सपना बताए। तर फारोलाई सपनाको अर्थ खोलिदिने त्‍यहाँ कोही भएन। तब ती मुख्‍य पियाउनेले फारोलाई भने, “मेरो भूल आज मलाई थाहा भयो। फारोले आफ्‍ना नोकरहरूसँग रिसानी भएर मलाई र मुख्‍य पकाउनेलाई अङ्गरक्षकका कप्‍तानको कैदखानामा राख्‍नुहुँदा एउटै रात उनले र मैले आ-आफ्‍नै अर्थ भएका सपना देखेका थियौं। त्‍यहाँ अङ्गरक्षकका कप्‍तानको एक जना जवान हिब्रू नोकर हामीसँग थियो, र जब हामीले त्‍यसलाई हाम्रा सपना बतायौं, हामी दुवैको आ-आफ्‍नो सपनाअनुसार सपनाको अर्थ त्‍यसले हामीलाई खोलिदियो। त्‍यसले हामीलाई जस्‍तो अर्थ खोलेको थियो, त्‍यस्‍तै हुनआयो। म आफ्‍नो काममा फेरि नियुक्त भएँ, तर त्‍यो मुख्‍य पकाउनेचाहिँ झुण्‍ड्याइयो।”