YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 3:14-24

उत्‍पत्ति 3:14-24 NNRV

तब परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, तैंले यसो गरेको हुनाले, “तँ सबै पाल्तु पशुहरू र सबै वन-पशुहरूभन्‍दा ज्‍यादा श्रापित हुनेछस्‌। पेटद्वारा तँ हिँड्‌नेछस्‌ र तेरो जीवनभरि तैंले माटो खानेछस्‌। तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।” स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।” त्‍यसपछि आदमलाई उहाँले भन्‍नुभयो, तैंले तेरी पत्‍नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्‍यसको उब्‍जनी तैंले खानेछस्‌। त्‍यसले तेरो निम्‍ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्‌। माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्, र माटैमा फर्किजानेछस्‌।” आदमले आफ्‍नी पत्‍नीको नाउँ हव्‍वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्‌। परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्‍ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो। तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस हामीजस्‍तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्‍यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्‍यो सधैँभरि जीवित रहला।” यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्‍यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्‍वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो।