YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 24:52-67

उत्‍पत्ति 24:52-67 NNRV

अब्राहामको नोकरले तिनीहरूका कुरा सुनेपछि भूइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो। तब त्‍यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्‍याएर रिबेकालाई दियो। त्‍यसले तिनका दाजु र आमालाई पनि मूल्‍यवान्‌ थोकहरू उपहारको रूपमा दियो। तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए, त्‍यो रात त्‍यहीँ बिताए। बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌।” तर रिबेकाका दाजु र आमाले भने, “कन्‍यालाई कम-से-कम दश दिन यहीँ हामीसँग रहन दिनुहोस्‌। त्‍यसपछि तिनी गए हुन्‍छ।” तर त्‍यसले तिनीहरूलाई भन्‍यो, “मलाई नअलमल्‍याउनुहोस्‌। अब परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु।” तब तिनीहरूले भने, “हामी कन्‍यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौं।” अनि तिनीहरूले रिबेकालाई डाकेर भने, “के तिमी यस मानिसको साथमा जान्‍छ्यौ?” तिनले भनिन्, “म जान्‍छु।” यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा पठाइदिए। तिनीहरूले रिबेकालाई आशिष्‌ दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरहरू कब्‍जा गरून्‌।” तब रिबेका र तिनका सहेलीहरू ऊँटहरूमा चढ़ेर त्‍यस मानिसको पछि लागे। यसरी रिबेकालाई लिएर त्‍यो नोकर आफ्‍नो बाटो लाग्‍यो। अब इसहाकचाहिँ बेअर-लहै-रोइबाट आएका थिए, किनकि त्‍यस बेला उनी नेगेवमा बसोबास गरिरहेका थिए। इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए। उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे। रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लेर त्‍यस नोकरलाई सोधिन्, “हामीलाई भेट्‌न बाहिर हिँड्‌दैआउने मानिस को हुन्‌?” त्‍यस नोकरले भन्‍यो, “उनी त मेरा मालिक हुन्‌।” तब रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌। त्‍यसपछि आफूले गरेका सबै काम त्‍यस नोकरले इसहाकलाई बतायो। इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए।