YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 24:52-67

उत्‍पत्ति 24:52-67 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यो कुरा सुनेर अब्राहामका चाकरले शिर निहुराएर परमप्रभुलाई भक्ति चढायो। तब त्‍यसले लत्ताकपडा, सुन र चाँदीका गरगहना निकाल्‍यो र रिबेकालाई दियो। रिबेकाका दाजु र आमालाई पनि त्‍यसले साह्रै राम्रो कोसेली दियो। त्‍यसपछि अब्राहामका चाकर र त्‍योसँग भएका मानिसहरूले खाए, पिए र रात त्‍यहीँ बिताए। बिहान तिनीहरू उठेपछि त्‍यसले भन्‍यो, “मेरो मालिककहाँ जानलाई बिदा पाऊँ।” तर रिबेकाका दाजु र आमाले भने, “आठ-दश दिन रिबेका हामीसित रहोस्‌, त्‍यसपछि त्‍यो जानेछ।” तर त्‍यसले भन्‍यो, “हामीलाई नपर्खाउनुहोस्। परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई आफ्‍नो मालिककहाँ फर्की जान दिनुहोस्।” तिनीहरूले जवाफ दिए, “हामी त्‍यस केटीलाई बोलाएर त्यसले के भन्‍छे सोध्‍नेछौं।” तिनीहरूले रिबेकालाई बोलाएर सोधे, “तँ यो मानिससँग जान चाहन्‍छेस्?” त्‍यसले भनी, “अँ, म जान्‍छु।” तब तिनीहरूले रिबेका र त्यस घरको तिनकी पुरानो चाकरनीलाई अब्राहामका चाकर र त्‍यसका मानिसहरूसँग जान अघि लगाइदिए। र तिनीहरूले रिबेकालाई यसरी आशीर्वाद दिए: “बहिनी, तँ लाखौं-लाखकी आमा भएस्! तेरा सन्‍तानले शत्रुहरूका सहरहरू विजय गरून्!” तब रिबेका र त्‍यसका सहेलीहरू तयार भए र अब्राहामका चाकरसित जानलाई ऊँटमा चढे। तिनीहरू सबै बाटो लागे। त्‍यस ठाउँमा ‘मलाई देख्‍नुहुने जीवित परमप्रभुको इनार’ थियो। इसहाक कनानको दक्षिण भागमा भएका उजाडभूमिमा आएर बसेका थिए। भर्खरै साँझ परेको बेलामा उनी मैदानमा डुल्‍न निस्‍केका थिए। उनले ऊँटहरू आइरहेका देखे। इसहाकलाई देखेर रिबेका ऊँटबाट उत्रिन्‌ र अब्राहामका चाकरलाई सोधिन्‌, “मैदानमा हामीतिर आइरहेका मानिस को हुन्?” चाकरले जवाफ दियो, “तिनी मेरा मालिक हुन्।” तब रिबेकाले आफ्‍नो मजेत्रोले अनुहार छोपिन्‌। चाकरले त्‍यसले गरेका सबै कुराहरू इसहाकलाई पनि सुनायो। तब इसहाकले रिबेकालाई आफ्‍नी आमा सारा बसेका पालमा ल्‍याए र तिनी उनकी स्‍वास्‍नी भई। इसहाकले रिबेकालाई प्रेम गरे र आमाको मृत्‍यु भएपछि यसरी उनले सान्‍त्‍वना पाए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 24 पढ्नुहोस्

उत्‍पत्ति 24:52-67 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब्राहामको नोकरले तिनीहरूका कुरा सुनेपछि भूइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो। तब त्‍यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्‍याएर रिबेकालाई दियो। त्‍यसले तिनका दाजु र आमालाई पनि मूल्‍यवान्‌ थोकहरू उपहारको रूपमा दियो। तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए, त्‍यो रात त्‍यहीँ बिताए। बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌।” तर रिबेकाका दाजु र आमाले भने, “कन्‍यालाई कम-से-कम दश दिन यहीँ हामीसँग रहन दिनुहोस्‌। त्‍यसपछि तिनी गए हुन्‍छ।” तर त्‍यसले तिनीहरूलाई भन्‍यो, “मलाई नअलमल्‍याउनुहोस्‌। अब परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु।” तब तिनीहरूले भने, “हामी कन्‍यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौं।” अनि तिनीहरूले रिबेकालाई डाकेर भने, “के तिमी यस मानिसको साथमा जान्‍छ्यौ?” तिनले भनिन्, “म जान्‍छु।” यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा पठाइदिए। तिनीहरूले रिबेकालाई आशिष्‌ दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरहरू कब्‍जा गरून्‌।” तब रिबेका र तिनका सहेलीहरू ऊँटहरूमा चढ़ेर त्‍यस मानिसको पछि लागे। यसरी रिबेकालाई लिएर त्‍यो नोकर आफ्‍नो बाटो लाग्‍यो। अब इसहाकचाहिँ बेअर-लहै-रोइबाट आएका थिए, किनकि त्‍यस बेला उनी नेगेवमा बसोबास गरिरहेका थिए। इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए। उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे। रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लेर त्‍यस नोकरलाई सोधिन्, “हामीलाई भेट्‌न बाहिर हिँड्‌दैआउने मानिस को हुन्‌?” त्‍यस नोकरले भन्‍यो, “उनी त मेरा मालिक हुन्‌।” तब रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌। त्‍यसपछि आफूले गरेका सबै काम त्‍यस नोकरले इसहाकलाई बतायो। इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 24 पढ्नुहोस्

उत्‍पत्ति 24:52-67 पवित्र बाइबल (NERV)

जब अब्राहामको नोकरले त्यो सुन्यो ऊ परमप्रभु अघि भूइँमा निहुरियो। त्यसपछि उनले ल्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सुन चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो। त्यसपछि त्यो नोकर र ऊसँगै पुगेको मानिसले खाइपिइ गरेर त्यहीं रात बिताए। बिहान मात्र चाँडै उठेर तिनीहरूले भने, “अब हामी मालिककहाँ जानै पर्छ।” रिबेकाकी आमा र दाज्यूले भने, “रिबेका हामीसितै केही समयको निम्ति बसोस्। हामीसित त्यो दश दिनसम्म बसोस् र त्यसपछि जान सक्छे।” तर नोकरले तिनीहरूलाई भने, “मलाई पर्खनु नलाउनु होला। परमप्रभुले मेरो यात्रा सफल पार्नु भएकोछ। मलाई मेरा मालिककहाँ फर्केर जानु दिनुहोस्।” रिबेकाको दाज्यू र आमाले भने, “हामी रिबेकालाई बोलाउनेछौं र उनले के गर्न चाहन्छे सोध्नेछौं।” तिनीहरूले रिबेकालाई बोलाएर भने, “के तँ यी मानिसहरूसँगै अहिले नै जान चाहन्छेस्?” रिबेकाले भनिन्, “अँ, म जान्छु।” यसकारण तिनीहरूले रिबेकालाई अब्राहामको नोकर अनि उसका साथीहरूसित जान दिए। रिबेकाकी सहेली पनि उसैसँग लागीन्। जब तिनीहरू जानु तत्पर भए तब तिनीहरूले भने, “ए हाम्री बहिनी, तिमी हजारौं हजार जनको जननी बन, र तिम्रो सन्तानले शत्रुहरूलाई हराओस्, अनि तिनीहरूको शहरहरू कब्जा गरून्।” त्यसपछि रिबेका र उसको सहेलीहरू ऊँटमा चढेर अघि लागे अनि अब्राहामको नोकर र उसको साथीहरू तिनीहरूको पछि लागे। यसरी त्यो नोकरले रिबेकालाई आफूसँगै लिएर घर फर्किन यात्रा शुरू गरे। त्यस बेला इसहाकले बेर-लहै-रोई छोडेर नेगेवमा बस्न शुरू गरेको थियो। एक साँझ इसहाक मैदानमा घूमि रहेको थियो। इसहाकले आँखा उठाएर हेर्यो अनि टाडोमा ऊँटहरू आउँदै गरेको देख्यो। रिबेकाले नजर घुमाई अनि इसहाकलाई देखी। तब तिनी ऊँटबाट ओर्लिन्। उनले नोकरलाई सोधी, “हामीहरूसित भेट गर्न त्यहाँ मैदानमा घूमिरहने जवान केटो को हो?” त्यो नोकरले भने, “यो मेरो मालिकको छोरो हो।” यति सुनेपछि रिबेकाले आफ्नो अनुहार छोपिन्। जुन कुराहरू भएका थिए नोकरले इसहाकलाई सबै वृतान्त बतायो। तब इसहाकले केटीलाई आफ्नो आमाको पालमा लग्यो। त्यही दिन इसहाकले रिबेकालाई विवाह गर्यो। ऊ रिबेकालाई अत्यन्तै प्रेम गर्थ्यो। यसकारण आफ्नी आमाको मृत्यु पछि उनले धेरै सान्तवना पायो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 24 पढ्नुहोस्