तिनीहरूले भनेका कुरा अब्राहामका सेवकले सुनेपछि त्यसले भुइँमा निहुरिएर याहवेहलाई डण्दवत् गर्यो। तब त्यस सेवकले सुन, चाँदीका गरगहना र लुगाफाटाहरू निकाल्यो, र रिबेकालाई दियो; त्यसले तिनका दाजु र आमालाई पनि बहुमूल्य उपहारहरू दियो। तब त्यो र त्योसँग आएका मानिसहरूले खानपिन गरे, र त्यो रात त्यहीँ बास बसे। जब तिनीहरू भोलिपल्ट बिहानै उठे, तब त्यसले भन्यो, “अब मेरा मालिककहाँ जानलाई बिदा दिनुहोस्।” तर रिबेकाका दाजु र आमाले भने, “हाम्री छोरीलाई हामीसित दश दिन जति बस्न दिनुहोस्; अनि त्यसपछि तिनलाई लैजानुहोस्।” तर त्यसले तिनीहरूलाई भन्यो, “अब मलाई रोकेर नराख्नुहोस्; किनकि याहवेहले मेरो यात्रा सफल पार्नुभएको छ। मलाई बिदा दिनुहोस्, र म मेरा मालिककहाँ जान पाऊँ।” तब तिनीहरूले भने, “हामी रिबेकालाई बोलाऔँ र यसबारे तिनैलाई सोधौँ।” तब तिनीहरूले रिबेकालाई बोलाएर सोधे, “के तिमी यस मानिससँग जान्छ्यौ?” उनले भनिन्, “अँ, म जान्छु।” यसकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी धाईआमासँगै अब्राहामका सेवक र त्यसका मानिसहरूलाई बिदा दिए। अनि तिनीहरूले रिबेकालाई आशिष् दिएर भने, “हाम्री बहिनी, तिमी हजारौँ हजारमा बढ्दै जाऊ; तिम्रा सन्तानले आफ्ना शत्रुहरूका सहरहरूमा अधिकार जमाऊन्।” तब रिबेका र तिनका सुसारेहरू तयार भए, र ऊँटमाथि चढे; अनि त्यस मानिसको पछि लागे। यसरी त्यस सेवकले रिबेकालाई लिएर गयो। अब इसहाक बेअर-लहै-रोइबाट आएका थिए; किनकि त्यस बेला तिनी दक्षिणमा बस्दैथिए। एक साँझ इसहाक ध्यान गर्न बाहिर खेतमा गए; अनि तिनले जब आँखा उठाएर हेरे, तब तिनले ऊँटको लस्कर आइरहेका देखे। रिबेकाले पनि आँखा उठाएर हेरिन्, र इसहाकलाई देखिन्। तिनी आफ्नो ऊँटबाट ओर्लिन्, अनि त्यस सेवकलाई सोधिन्, “हामीलाई भेट्न खेतबाट आउँदैगरेका ती मानिस को हुन्?” त्यस सेवकले जवाफ दियो, “उहाँ मेरा मालिक हुनुहुन्छ।” तब उनले घुम्टो हालेर आफ्नो मुहार छोपिन्। तब त्यस सेवकले आफूले गरेका सबै कुराहरू इसहाकलाई भनिदियो। इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालभित्र लिएर आए; अनि तिनलाई विवाह गरे। यसरी तिनी उनकी पत्नी भइन्; अनि तिनले उनलाई प्रेम गरे। यसरी इसहाकले आफ्नी आमाको मृत्युपछि सान्त्वना पाए।
उत्पत्ति 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 24:52-67
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू