तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्याङगुडुङ भयो र बिजुली चम्क्यो र बाक्लो बादल पर्वतमा उठ्यो, र तुरहीको अति चर्को आवाज सुनियो। छाउनीमा भएका सबै जना थरथर कामे। तब मोशाले मानिसहरूलाई छाउनीबाट परमेश्वरसँग भेट गर्न ल्याए। तिनीहरूचाहिँ पर्वतको फेदीमा खड़ा भए। परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो। पर्वतबाट धूवाँ भट्टीबाट झैँ निस्क्यो र सारा पर्वत जोडसित काँप्न लाग्यो, र तुरहीको आवाज अझ चर्को गरी बज्न लाग्यो। तब मोशा बोल्न लागे, र परमेश्वरले मेघ गर्जनमा तिनलाई जवाफ दिनुभयो। अनि परमप्रभु सीनै पर्वतको टाकुरामा ओर्लेर आउनुभयो, र परमप्रभुले मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो, र मोशा माथि उक्लेर गए। तब परमप्रभुले मोशालाई भन्नुभयो, “तल गएर मानिसहरूलाई सावधान गर्, नत्रता तिनीहरू परमप्रभुलाई हेर्न बार नाघेर माथि आउलान् र तिनीहरूमध्ये धेरै नष्ट होलान्। परमप्रभुको नजिक आउन पूजाहारीले पनि आफैलाई शुद्ध गरून्, नत्रता परमप्रभुले तिनीहरूलाई तत्कालै नाश गर्नुहुन्छ।” मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा उक्लेर आउन सक्दैनन्, किनकि तपाईंले हामीलाई ‘पर्वतको वरिपरि बार लगाएर पवित्र भनी अलग गर,’ भनी आज्ञा दिनुभएको थियो।” अनि परमप्रभुले तिनलाई भन्नुभयो, “जा, तँ आफै तल जा, र हारूनको साथमा माथि उक्लेर आइज। तर पूजाहारीहरू र मानिसहरूचाहिँ परमप्रभुकहाँ बार नाघेर उक्ली नआऊन्, नत्रता उहाँले तिनीहरूलाई तत्कालै नाश गर्नुहुनेछ।” यसैले मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा बताइदिए।
प्रस्थान 19 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 19:16-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू