प्रस्थान 19:16-25
प्रस्थान 19:16-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्याङगुडुङ भयो र बिजुली चम्क्यो र बाक्लो बादल पर्वतमा उठ्यो, र तुरहीको अति चर्को आवाज सुनियो। छाउनीमा भएका सबै जना थरथर कामे। तब मोशाले मानिसहरूलाई छाउनीबाट परमेश्वरसँग भेट गर्न ल्याए। तिनीहरूचाहिँ पर्वतको फेदीमा खड़ा भए। परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो। पर्वतबाट धूवाँ भट्टीबाट झैँ निस्क्यो र सारा पर्वत जोडसित काँप्न लाग्यो, र तुरहीको आवाज अझ चर्को गरी बज्न लाग्यो। तब मोशा बोल्न लागे, र परमेश्वरले मेघ गर्जनमा तिनलाई जवाफ दिनुभयो। अनि परमप्रभु सीनै पर्वतको टाकुरामा ओर्लेर आउनुभयो, र परमप्रभुले मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो, र मोशा माथि उक्लेर गए। तब परमप्रभुले मोशालाई भन्नुभयो, “तल गएर मानिसहरूलाई सावधान गर्, नत्रता तिनीहरू परमप्रभुलाई हेर्न बार नाघेर माथि आउलान् र तिनीहरूमध्ये धेरै नष्ट होलान्। परमप्रभुको नजिक आउन पूजाहारीले पनि आफैलाई शुद्ध गरून्, नत्रता परमप्रभुले तिनीहरूलाई तत्कालै नाश गर्नुहुन्छ।” मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा उक्लेर आउन सक्दैनन्, किनकि तपाईंले हामीलाई ‘पर्वतको वरिपरि बार लगाएर पवित्र भनी अलग गर,’ भनी आज्ञा दिनुभएको थियो।” अनि परमप्रभुले तिनलाई भन्नुभयो, “जा, तँ आफै तल जा, र हारूनको साथमा माथि उक्लेर आइज। तर पूजाहारीहरू र मानिसहरूचाहिँ परमप्रभुकहाँ बार नाघेर उक्ली नआऊन्, नत्रता उहाँले तिनीहरूलाई तत्कालै नाश गर्नुहुनेछ।” यसैले मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा बताइदिए।
प्रस्थान 19:16-25 पवित्र बाइबल (NERV)
तेस्रो दिन बिहान बाक्लो बादल पर्वतमा झर्यो। त्यहाँ बिजुलीको चमक देखियो आकाशको गर्जनको साथै तुरहीको एकदमै चर्को आवाज सुनियो। छाउनीमा भएका मानिसहरू डराए। तब मोशाले मानिसहरूलाई परमेश्वरसँग भेट गर्न अगुवाई गरे। तिनीहरू पर्वतको फेदिमा नै उभिए। सीनै पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो। तुरहीको आवाज झन्-झन् चर्को हुदै गयो। प्रत्येक पल्ट मोशाले परमेश्वरसित बोले परमेश्वरले उसलाई गर्जन जस्तो आवाजमा उत्तर दिनु भयो। अनि परमप्रभु सीनै पर्वतमा ओर्लिनु भयो। परमप्रभु स्वर्गबाट पर्वतको टाकुरामा आउनु भयो। तब उहाँले मोशालाई पर्वतको टाकुरामाथि बोलाउनु भयो अनि मोशा पर्वतमाथि गए। परमप्रभुले मोशालाई भन्नु भयो, “तल झर अनि मानिसहरूलाई मेरो नजिक नआउन र मलाई नहेर्ने चेताउनी देऊ। यदि तिनीहरूले त्यसो गरे धेरै जना मर्नेछन्। पूजाहारीहरूलाई यो पनि भन जो परमप्रभुको सामुन्ने आउँछन् तिनीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। तिनीहरूले त्यसो गर्दैनन् भने तब म तिनीहरूलाई दण्ड दिनेछु।” मोशाले परमप्रभुलाई भने, “तर मानिसहरू सीनै पर्वतमाथि आउन सक्तैनन्। तपाईं आफैले हामीलाई पवित्र भूमिमा धर्का कोर्नु अनि मानिसहरूलाई नाध्न नदिनु भन्नु भयो।” परमप्रभुले उसलाई भन्नु भयो, “मानिसहरू कहाँ जाऊ, हारूनलाई भेट अनि आफूसँगै मकहाँ लिएर आऊ, तर पूजाहारी र मानिसहरूलाई मेरो नजिक आउन नदेऊ। यदि तिनीहरू नजिक आए म तिनीहरूलाई दण्ड दिनसक्छु।” यसर्थ मोशा तल मानिसहरू भएकहाँ गए र तिनीहरूलाई यी सब कुराहरू बताए।
प्रस्थान 19:16-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तेस्रो दिन बिहान बिजुली चम्क्यो र आकाश गर्ज्यो, बाक्लो बादल पहाडमाथि छायो र तुरहीको चर्को स्वर सुनियो। डेराका सबै मानिसहरू डरले काँपे। मोशाले तिनीहरूलाई परमेश्वरसित भेट्न डेराबाट बाहिर लगे र तिनीहरू पर्वतको फेदमा उभिए। सारा सीनै पर्वत धुवाँले ढाकिएको थियो किनभने परमप्रभु आगोमा त्यसमाथि उत्रनुभएको थियो। धुवाँ भट्टीको धुवाँझैँ निस्किरहेको थियो। अनि सबै मानिसहरू थरथर काँप्न लागेका थिए। तुरहीको स्वर अझ चर्को हुन लाग्यो। मोशा बोले र परमेश्वरले तिनलाई मेघको गर्जनमा उत्तर दिनुभयो। परमप्रभु सीनै पर्वतको टुप्पोमा आउनुभयो र मोशालाई त्यहाँ बोलाउनुभयो। मोशा पर्वतमा चढे र परमप्रभुले उनलाई भन्नुभयो, “तल गएर मानिसहरूलाई भन् कि तिनीहरू सिमाना नाघेर नआऊन् र मलाई नहेरून्। त्यसो गरे, तिनीहरू धेरैजना मर्नेछन्। मेरो छेउमा आउने पूजाहारीहरूले पनि आफैंलाई चोख्याउनुपर्छ नत्र म तिनीहरूलाई दण्ड दिनेछु।” मोशाले परमप्रभुलाई भने, “मानिसहरू उँभो आउन सक्नेछैनन् किनभने तपाईंले यस पर्वतलाई पवित्र ठान्नू अनि यसलाई सिमानाले घेर्नू भनी हामीलाई आज्ञा गर्नुभएको थियो।” परमप्रभुले उत्तर दिनुभयो, “तल जा र हारूनलाई लिएर आइज। तर पूजाहारी र मानिसहरू भने सिमाना नाघेर मकहाँ नआऊन्, नत्र म तिनीहरूलाई दण्ड दिनेछु।” तब मोशा तल मानिसहरूकहाँ गए र परमप्रभुले भनेका कुरा तिनीहरूलाई सुनाए।