YouVersion लोगो
खोज आइकन

उपदेशक 3:9-22

उपदेशक 3:9-22 NNRV

काम गर्नेले आफ्‍नो परिश्रमबाट के लाभ पाउँछ र? परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु। उहाँले हरेक कुरालाई आफ्‍नो समयमा सुन्‍दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्‍तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्‍त्‍यसम्‍म के गर्नुभएको छ त्‍यसको गहिराइलाई बुझ्‍न सक्‍दैनन्‌। म जान्‍दछु कि मानिसको निम्‍ति आफू जीवित रहँदा आनन्‍दित रहनु र असल गर्नुभन्‍दा अरू असल कुरो केही छैन। परमेश्‍वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्‍नो सारा परिश्रममा सन्‍तुष्‍ट रहोस्‌। मलाई थाहा छ कि परमेश्‍वरले जे गर्नुहुन्‍छ त्‍यो सधैँभरि नै रहिरहन्‍छ। त्‍यसमा केही थप्‍न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून्‌ भनी परमेश्‍वर यसो गर्नुहुन्‍छ। जे छ त्‍यो अघिदेखि नै थियो, जे हुनेछ त्‍यो पहिलेदेखि थियो। परमेश्‍वरले भूतकालमा भएका कुराहरूको हरहिसाब लिनुहुन्‍छ। अनि मैले सूर्यमुनि अर्कै कुरा पनि देखें: न्‍यायको सट्टामा खराबी पो रहेछ, धार्मिकताको सट्टामा खराबी पो रहेछ। मैले आफ्‍नो मनमा विचार गरें, “परमेश्‍वरले धर्मी र दुष्‍ट दुवैलाई न्‍यायमा ल्‍याउनुहुनेछ, किनकि हरेक कार्यको समय हुनेछ, र हरेक कामको समय हुनेछ।” मैले यो पनि सोचें, “मानिसहरू त पशुसरह हुन्‌ भन्‍ने जानून्‌ भनी परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्‍छ। मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ। एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ। सबैको एउटै सास हुन्‍छ। मानिसहरूको पशुभन्‍दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्‍यर्थ हो। सबै एउटै ठाउँमा जान्‍छन्, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्‍छन्‌। मानिसको आत्‍माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्‍छ भनी कसले जान्‍दछ र? यसैले मैले देखें कि मानिसको निम्‍ति त आफ्‍नै काममा आनन्‍द लिनुभन्‍दा अरू असल कुरो केही हुँदैन, किनभने त्‍यही नै त्‍यसको भाग हो। किनकि कसले त्‍यसलाई त्‍योभन्‍दा पछि हुने कुराहरू देखाउन सक्‍छ र?