उपदेशक 3
3
प्रत्येक कुराको लागि समय छ
1सबै कुराका लागि समय छ,
र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2जन्मने एउटा समय छ,
र मर्ने एउटा समय। रोप्ने एउटा समय छ,
र उखेल्ने एउटा समय।
3मार्ने एउटा समय छ,
र निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ,
र बनाउने एउटा समय।
4रुने एउटा समय छ,
र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ,
र नाच्ने एउटा समय।
5ढुङ्गा छर्ने एउटा समय छ,
र ती बटुल्ने एउटा समय। अँगाल्ने एउटा समय छ,
र अलग रहने एउटा समय।
6खोज्ने एउटा समय छ,
र छोड़िदिने एउटा समय। राख्ने एउटा समय छ,
र फाल्ने एउटा समय।
7च्यात्ने एउटा समय छ,
र मरम्मत गर्ने एउटा समय। चूप लाग्ने एउटा समय छ,
र बोल्ने एउटा समय।
8प्रेम गर्ने एउटा समय छ,
र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ,
र मेलमिलाप गर्ने एउटा समय।
9काम गर्नेले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र? 10परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु। 11उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्। 12म जान्दछु कि मानिसको निम्ति आफू जीवित रहँदा आनन्दित रहनु र असल गर्नुभन्दा अरू असल कुरो केही छैन। 13परमेश्वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्नो सारा परिश्रममा सन्तुष्ट रहोस्। 14मलाई थाहा छ कि परमेश्वरले जे गर्नुहुन्छ त्यो सधैँभरि नै रहिरहन्छ। त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून् भनी परमेश्वर यसो गर्नुहुन्छ।
15जे छ त्यो अघिदेखि नै थियो, जे हुनेछ त्यो पहिलेदेखि थियो। परमेश्वरले भूतकालमा भएका कुराहरूको हरहिसाब लिनुहुन्छ।
16अनि मैले सूर्यमुनि अर्कै कुरा पनि देखें: न्यायको सट्टामा खराबी पो रहेछ, धार्मिकताको सट्टामा खराबी पो रहेछ।
17मैले आफ्नो मनमा विचार गरें, “परमेश्वरले धर्मी र दुष्ट दुवैलाई न्यायमा ल्याउनुहुनेछ, किनकि हरेक कार्यको समय हुनेछ, र हरेक कामको समय हुनेछ।”
18मैले यो पनि सोचें, “मानिसहरू त पशुसरह हुन् भन्ने जानून् भनी परमेश्वरले तिनीहरूको जाँच गर्नुहुन्छ। 19मानिसको भाग्य पशुको झैँ हुन्छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्छ। एउटा जसरी मर्छ, अर्को पनि त्यसरी नै मर्छ। सबैको एउटै सास हुन्छ। मानिसहरूको पशुभन्दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्यर्थ हो। 20सबै एउटै ठाउँमा जान्छन्, किनभने सबै धूलोबाट आएका हुन् र सबै धूलोमा फर्किजान्छन्। 21मानिसको आत्माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्छ भनी कसले जान्दछ र?
22यसैले मैले देखें कि मानिसको निम्ति त आफ्नै काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही हुँदैन, किनभने त्यही नै त्यसको भाग हो। किनकि कसले त्यसलाई त्योभन्दा पछि हुने कुराहरू देखाउन सक्छ र?
अहिले सेलेक्ट गरिएको:
उपदेशक 3: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012