आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्ति साह्रै गाह्रो वा टाढ़ो छैन। “हाम्रा निम्ति स्वर्गमा उक्लेर कसले त्यो ल्याइदिएर हामीलाई बताइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो स्वर्गमा छैन। “कसले सागर पारि गएर हामीलाई त्यो ल्याइदिएर हामीलाई सुनाइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो सागरको पल्लो छेउमा पनि छैन। तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ। हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्यु र नाश राखेको छु। परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तर तिमीहरूका हृदय बरालिएर तिमीहरू अटेरी भयौ र अन्य देवताहरूप्रति आकर्षित भएर तिनीहरूलाई पुज्न र सेवा गर्न लाग्यौ भने, तिमीहरू निश्चय नै नष्ट हुनेछौ भनी म आज घोषणा गर्दछु, र यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्नेछैनौ। आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष् र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक, र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ।
व्यवस्था 30 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 30
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 30:11-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू