व्यवस्था 30
30
जीवन र वृद्धि प्रदान गरिएको
1परमप्रभु परमेश्वरले जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाइपठाउनुभएपछि जब यी आशिष् र श्राप तिमीहरूमाथि पर्नेछन् र तिनको स्मरण गरेर 2तिमीहरू र तिमीहरूका सन्तान परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्नो पूरा हृदय र आफ्नो पूरा प्राणले मान्नेछौ, 3तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्याउनुहुनेछ। 4तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्दा टाढ़ो देशमा भए पनि त्यहाँबाट परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बटुल्नुहुनेछ, र त्यहाँबाट तिमीहरूलाई फर्काएर ल्याउनुहुनेछ। 5तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई ल्याउनुहुनेछ, र तिमीहरूले त्यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्दा उन्नतिशील र असंख्य बनाउनुहुनेछ। 6परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक। 7परमप्रभु तिमीहरूका परमेश्वरले यी सबै श्रापहरू तिमीहरूलाई हेला गर्ने र खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ। 8तिमीहरूले फेरि परमप्रभुको वचन मान्नेछौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर्नेछौ। 9तब तिमीहरूका हातका सबै काममा, सन्तानमा, गाईबस्तुका बाछा-बाछीहरूमा र भूमिका अन्नहरूमा आफ्ना परमेश्वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ। 10व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञा र विधिहरू पालन गर्यौ भने र आफ्नो पूरा हृदयले र आफ्नो पूरा प्राणले परमप्रभु आफ्ना परमेश्वरतिर तिमीहरू फर्क्यौ भने, तिमीहरूका पिता-पुर्खासँग उहाँ प्रसन्न हुनुभएझैँ परमप्रभु तिमीहरूसँग फेरि प्रसन्न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ।
11आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्ति साह्रै गाह्रो वा टाढ़ो छैन। 12“हाम्रा निम्ति स्वर्गमा उक्लेर कसले त्यो ल्याइदिएर हामीलाई बताइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो स्वर्गमा छैन। #रोम १०:६-८ 13“कसले सागर पारि गएर हामीलाई त्यो ल्याइदिएर हामीलाई सुनाइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो सागरको पल्लो छेउमा पनि छैन। 14तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ।
15हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्यु र नाश राखेको छु। 16परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
17तर तिमीहरूका हृदय बरालिएर तिमीहरू अटेरी भयौ र अन्य देवताहरूप्रति आकर्षित भएर तिनीहरूलाई पुज्न र सेवा गर्न लाग्यौ भने, 18तिमीहरू निश्चय नै नष्ट हुनेछौ भनी म आज घोषणा गर्दछु, र यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्नेछैनौ।
19आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष् र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक, 20र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ। #उत १२:७; २६:३; २८:१३
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 30: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012