YouVersion लोगो
खोज आइकन

२ शमूएल 5:9-24

२ शमूएल 5:9-24 NNRV

दाऊद त्‍यही गढ़ीमा बस्‍न लागे, र त्‍यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए। अनि दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर तिनीसँग हुनुहुन्‍थ्‍यो। टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्‍ति एउटा महल बनाए। परमप्रभुले तिनलाई इस्राएलमाथि राजा हुनलाई स्‍थिर गर्नुभयो, अनि तिनको राज्‍य आफ्‍नो प्रजा इस्राएलको निम्‍ति उच्‍च पार्नुभयो भनी दाऊदले अब थाहा पाए। हेब्रोनबाट सरेपछि दाऊदले यरूशलेममा अझै धेरै उपपत्‍नीहरू र पत्‍नीहरू लिए। अनि तिनका अरू छोराछोरी जन्‍मे। यरूशलेममा जन्‍मेका तिनका सन्‍तानहरूका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन, यिभार, एलीशूअ, नेपेग, यापी, एलीशामा, एल्‍यादा र एलीपेलेत। दाऊद इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सेना लिएर दाऊदलाई खोज्‍न निस्‍के, तर यो कुरा सुनेर दाऊद गढ़ीमा ओर्लेर गए। पलिश्‍तीहरू आएर रपाईहरूको बेँसीमा फैलिएर बसे। तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्‍तीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु।” तब तिनी उक्‍लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्‍यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्‍नो किनार भत्‍काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्‌क्तिलाई भत्‍काइदिनुभयो।” त्‍यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम राखियो। पलिश्‍तीहरूले आफ्‍ना मूर्तिहरू त्‍यहीँ छोड़े, अनि दाऊद र तिनका मानिसहरूले ती लगे। पलिश्‍तीहरू फेरि आएर रपाईहरूको बेँसीमा फैलिएर बसे। दाऊदले परमप्रभुलाई सोधे, र परमप्रभुले भन्‍नुभयो, “यस पल्‍ट सोझै आक्रमण नगर्, तर घुमेर लहरे-पीपलहरूका सामुन्‍ने पछिल्‍तिरबाट उनीहरूलाई आक्रमण गर्‌। लहरे-पीपलहरूका टुप्‍पामा हुरुरुरु आवाज सुन्‍ने बित्तिकै झट्टै आक्रमण गरिहाल्, किनभने त्‍यस बेला परमप्रभु पलिश्‍तीहरूको सेनालाई परास्‍त गर्न तेरो अगिअगि जानुहुनेछ।”