YouVersion लोगो
खोज आइकन

२ राजाहरू 20:1-11

२ राजाहरू 20:1-11 NNRV

ती दिनमा हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगमवक्ता यशैया तिनीकहाँ आएर भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ: तेरो घरलाई ठीकठाक पार्, किनभने तँ मर्नेछस्‌। तँ निको हुनेछैनस्‌।” तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढ़ाए, “हे परमप्रभु, सम्‍झना राख्‍नुहोस्, म तपाईंको सामुन्‍ने कस्‍तो विश्‍वास र सम्‍पूर्ण हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्‍टिमा जे असल छ त्‍यो गरेको छु।” अनि हिजकिया धुरुधुरु रोए। यशैया बीचको चोकबाट बाहिर जान अघि परमप्रभुको यो वचन तिनीकहाँ आयो: “फर्केर मेरो प्रजाको अगुवालाई भन्, ‘तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्‍दिरमा जानेछस्‌। म तेरो आयु अरू पन्‍ध्र वर्ष बढ़ाइदिनेछु। अनि तँलाई र यस सहरलाई अश्‍शूरको राजाको हातबाट छुटाउनेछु। मेरो आफ्‍नै खातिर र मेरो दास दाऊदको खातिर म यस सहरको रक्षा गर्नेछु’।” तब यशैयाले भने, “नेभाराको लेप बनाएर लगाउनू।” तिनीहरूले त्‍यसै गरे, र त्‍यो तिनको पिलोमा लगाइदिए र तिनी निको भए। हिजकियाले यशैयालाई सोधेका थिए, “म निको हुनेछु र तेस्रो दिनमा परमप्रभुको भवनमा जानेछु भनी परमप्रभुले मलाई के चिन्‍ह दिनुहुनेछ?” यशैयाले जवाफ दिए, “तपाईंलाई परमप्रभुको चिन्‍ह यही हुनेछ, कि परमप्रभुले जे प्रतिज्ञा गर्नुभएको छ त्‍यो काम हुनेछ। घामको छाया दश कदम अगि सरोस्, कि दश कदम पछि सरोस्‌?” हिजकियाले भने, “घामको छाया दश कदम अगि सर्नु त सजिलो छ। त्‍यो दश कदम पछि सरोस्‌।” तब यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे, र परमप्रभुले आहाजको सिँढ़ीमा छाया दश कदम पछि सारिदिनुभयो।