YouVersion लोगो
खोज आइकन

१ राजाहरू 7:1-22

१ राजाहरू 7:1-22 NNRV

तर सोलोमनलाई आफ्‍नो महल निर्माण गर्न तेह्र वर्ष लाग्‍यो। तिनले सय हात लामो, पचास हात चौड़ा, तीस हात अल्‍गो, चार लहर देवदारुका स्‍तम्‍भ भएको, तिनका माथि देवदारुकै सत्तरी भएको लेबनानको वन भनिने महल बनाए। स्‍तम्‍भमा अड़िएका ती सत्तरीहरूमाथि देवदारुको छत लगाइयो— प्रत्‍येक लहरमा पन्‍ध्र वटा सत्तरी गरी जम्‍मै पैँतालीस वटा सत्तरी थिए। त्‍यसका झ्‍यालका तीन लहरहरूमा अल्‍गा गरी राखिएका थिए, ती आमनेसामने फर्केका थिए। सबै ढोकाका आयतकार चौकोसहरू थिए। ती अगाड़िपट्टि तीन-तीन वटाका पङ्‌क्तिमा एक-अर्कोतिर फर्केका थिए। तिनले पचास हात लामो र तीस हात चौड़ा स्‍तम्‍भहरूले घेरिएको चोक बनाए। त्‍यसको अगि एउटा दलान थियो, र त्‍यसको सामु खम्‍बाहरू र एउटा बाहिर निस्‍केको छत थियो। तिनले न्‍याय भवन, अर्थात्‌ सिंहासन भवन बनाए। त्‍यहीँ नै तिनले न्‍याय गर्थे। तिनले भूइँदेखि दलिनसम्‍म त्‍यसलाई देवदारुले छोपे। तिनले आफ्‍नै बस्‍ने महल त्‍यसको पछिल्‍तिर न्‍यायको भवनजस्‍तै बनाए। तिनले विवाह गरेर ल्‍याएकी फारोकी छोरीको निम्‍ति पनि त्‍यहीजस्‍तो महल बनाए। यी सबै भवनहरू बाहिरदेखि ठूलो चोकसम्‍म र जगदेखि छतसम्‍म करौँतीले ठीक परिमाणमा भित्री र बाहिरी मोहड़ामा काटिएका उच्‍च स्‍तरीय ढुङ्गाहरूले बनाइएका थिए। जगमा असल किसिमका ठूला ढुङ्गाहरू नापमा कोहीचाहिँ दश हात र कोहीचाहिँ आठ हातका थिए। तिनको माथि उच्‍च स्‍तरीय ढुङ्गाहरू ठीक नापमा काटेर मिलाइएका र देवदारुका सत्तरी थिए। ठूलो चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तीन लहर थिए, र देवदारुका सत्तरीहरूको एक लहर थियो। परमप्रभुका मन्‍दिरको भित्री चोक र त्‍यसको दलान पनि त्‍यस्‍तै थिए। सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाइपठाए, जसकी आमा नप्‍ताली कुलकी एउटी विधवा थिइन्‌ र जसका पिताचाहिँ टुरोसवासी काँसाका निपुण कारीगर थिए। हुराम काँसाका सबै किसिमका काम गर्ने अत्‍यन्‍तै निपुण र अनुभवी मानिस थिए। तिनी सोलोमन राजाकहाँ आए र तिनलाई सुम्‍पिएका सबै कामहरू गरे। तिनले दुई वटा काँसाका स्‍तम्‍भहरू ढाले, नापमा प्रत्‍येकको अल्‍गाइ अठाह्र हात र फेरोचाहिँ बाह्र हातको थियो। तिनले स्‍तम्‍भहरूमाथि शिर राख्‍नलाई ढालेका काँसाका दुई वटा स्‍तम्‍भ-शिर पनि बनाए। प्रत्‍येक स्‍तम्‍भ-शिर पाँच हात अल्‍गो थियो। तिनले हरेक स्‍तम्‍भमाथि भएको स्‍तम्‍भ-शिरको निम्‍ति जाली स्‍वरूप सात वटा झुण्‍डिएका सिक्री बनाए। स्‍तम्‍भहरूका स्‍तम्‍भ-शिर सिँगार्नलाई हरेक सिक्रीको जालीका चारैपट्टि तिनले दुई लहर बुट्टादार दारिमहरू बनाए। तिनले हरेक स्‍तम्‍भ-शिरमा पनि त्‍यस्‍तै गरे। दलानभित्रका स्‍तम्‍भका स्‍तम्‍भ-शिरहरू लिली फूलको आकारका चार हात अल्‍गा थिए। दुवै स्‍तम्‍भका स्‍तम्‍भ-शिरमा, जालीनेरको कचौराको आकार भएको भागमा, स्‍तम्‍भ-शिरका वरिपरि लहर-लहर गरी दुई सय बुट्टादार दारिम बनाइएका थिए। तिनले मन्‍दिरका दलानका अगाड़ि ती दुई स्‍तम्‍भहरू खड़ा गरे। तिनले दक्षिणपट्टिको स्‍तम्‍भको नाउँ याकीन राखे र उत्तरपट्टिको नाउँ बोअज राखे। तिनका स्‍तम्‍भ-शिर लिली फूलका आकारका थिए। यसरी स्‍तम्‍भहरूको काम सिद्धियो।