तर यी आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति हुँदैन, तर त्यो अझ खराबीको निम्ति हुन्छ। किनकि पहिले त, मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु। अनि केही मात्रामा म त्यो विश्वास पनि गर्दछु। तिमीहरूमध्ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्यक नै छ। जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु-भोज होइन। किनकि खान बस्दा हरेकले आफ्नो भोजन खान थाल्छ, र कोही भोकै रहन्छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्छ। के खान र पिउनलाई के तिमीहरूका आ-आफ्ना घर छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्ति म तिमीहरूको तारिफ गरूँ? म कदाचित् तारिफ गर्दिनँ। किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।” त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर।” किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ। यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ, कि प्रभुको कचौराबाट पिउँछ, त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ। हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्। किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ। यसैकारण तिमीहरूमध्ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्। तर हामी साँच्चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्यायमा पर्नेछैनौं। तर जब प्रभुले हाम्रो न्याय गर्नुहुन्छ, तब हामीलाई अनुशासन गर्नुहुन्छ, ताकि संसारसँग हामी दोषी नठहरिऔं। यसकारण मेरा भाइ हो, खानलाई एकसाथ भेला हुँदा एक दोस्रालाई पर्ख। यदि कोही भोको छ भने त्यसले घरैमा खाओस्, नत्रता एकसाथ भेला हुँदा तिमीहरू दण्डको भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु।
१ कोरिन्थी 11 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 11:17-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू