मत्ती 15
15
आन्तरिक शुद्धताको बारेमा येशूको शिक्षा
1अनि यरूशलेमबाट केही फरिसी र व्यवस्थाका शिक्षकहरू येशूकहाँ आएर सोधे, 2“तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानुअघि आफ्ना हात धुँदैनन्।”
3येशूले जवाफ दिनुभयो, “अनि तिमीहरूले चाहिँ आफ्ना परम्पराको निम्ति किन परमेश्वरको आज्ञा भङ्ग गर्छौ? 4किनकि परमेश्वरले भन्नुभयो, ‘आफ्ना बुबाआमालाई आदर गर’#15:4 प्रस 20:12; व्यव 5:16 अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ त्यो मारिनुपर्छ।’#15:4 प्रस 21:17; लेवी 20:9 5तर तिमीहरू भन्छौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो त्यो परमेश्वरलाई चढाइसकिएको छ’ भन्यो भने, 6त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन। यसरी तिमीहरूले आफ्नो परम्पराको निम्ति परमेश्वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ। 7तिमी कपटीहरू! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठीक भनेका थिए:
8“ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्,
तर तिनीहरूका हृदय मदेखि टाढो छ।
9तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्;
तिनीहरूका शिक्षा खाली मानवीय नियम मात्र हुन्।’ ”#15:9 यशै 29:13
10अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्नुभयो, “सुन र बुझ। 11जे मानिसको मुखबाट भित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्दैन; तर जे उसको मुखबाट बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ पार्दछ।”
12तब चेलाहरूले उहाँकहाँ आएर सोधे, “यो सुनेर फरिसीहरू अपमानित भएका छन् भनी तपाईंलाई थाहा छ?”
13उहाँले जवाफ दिनुभयो, “मेरा स्वर्गीय पिताले नरोप्नु भएको हरेक बोटबिरुवा जरैसित उखेलिनेछ। 14तिनीहरूलाई छोडिदेओ; ती दृष्टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउँछ भने दुवै खाडलमा पर्नेछन्।”
15पत्रुसले भने, “यस दृष्टान्तको अर्थ हामीलाई बुझाइदिनुहोस्।”
16येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरू अझ यतिका अबुझ छौ? 17जे कुरा मुखभित्र पसेर पेटमा जान्छ, त्यो शरीरबाट बाहिर निस्कन्छ भनी तिमीहरू जान्दैनौ? 18तर जे कुरा मुखबाट बाहिर निस्कन्छ त्यो हृदयबाट आउँछ, अनि यसैले मानिसलाई अशुद्ध पार्छ। 19किनकि हृदयबाट दुष्ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्। 20यिनीहरूले नै मानिसलाई अशुद्ध बनाउँछन्, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।”
कनानी स्त्रीको विश्वास
21त्यो ठाउँ छोडेर येशू टायर र सीदोनका इलाकामा जानुभयो। 22त्यसका छेउछाउबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, “प्रभु, दाविदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूत आत्मा लागेको छ र साह्रै ग्रस्त पारेको छ।”
23येशूले जवाफमा एक शब्द पनि बोल्नुभएन। यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर विन्ती गरे, “त्यसलाई पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछि-पछि रुँदै आउँदैछे।”
24उहाँले जवाफ दिनुभयो, “म खाली इस्राएलका हराएका भेडाहरूकहाँ मात्र पठाइएको हुँ।”
25त्यस स्त्रीले उहाँकहाँ आई र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!”
26उहाँले जवाफ दिनुभयो, “केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अघि फालिदिनु उचित होइन।”
27त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।”
28तब येशूले जवाफ दिनुभयो, “हे स्त्री, तिम्रो विश्वास ठूलो रहेछ। तिमीले चाहेजस्तै नै होस्।” अनि उसकी छोरी त्यसै बेला निको भई।
येशूले चार हजारलाई खुवाउनुभएको
29येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनार भएर जानुभयो; अनि उहाँ एउटा पहाडी ठाउँमा गएर बस्नुभयो। 30त्यहाँ ठूला भीडहरू उहाँकहाँ हिँड्न नसक्ने, दृष्टिविहीन, अपाङ्ग, बोल्न नसक्ने अनि अरू धेरैलाई लिएर आए, र उहाँका पाउमा राखिदिए; अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो। 31जब मानिसहरूले बोल्न नसक्नेहरूले बोलेका, अपाङ्गहरू ठीक भएका, हिँड्न नसक्नेहरू हिँडेका अनि दृष्टिविहीनहरूले देखेका देखे तब तिनीहरू छक्क परे; अनि तिनीहरूले इस्राएलका परमेश्वरको प्रशंसा गरे।
32येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु, तिनीहरू हामीसित तीन दिनदेखि छन्, अनि तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्नँ, नत्र ता यिनीहरू बाटैमा मूर्छा पर्लान्।”
33उहाँका चेलाहरूले जवाफ दिए, “यति ठूलो भीडलाई खुवाउनलाई यस अनकन्टार ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौंला?”
34येशूले सोध्नुभयो, “तिमीहरूसित कतिओटा रोटी छन्?”
तिनीहरूले जवाफ दिए “सातओटा, अनि ससाना केही माछाहरू।”
35उहाँले भीडलाई भुइँमा बस्न लाउनुभयो। 36तब उहाँले ती सातओटा रोटी र माछा लिनुभयो, अनि धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो, अनि तिनीहरूले मानिसहरूलाई दिए। 37तिनीहरू सबैले खाए अनि अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। 38खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरू छोडेर करीब चार हजार पुरुषहरू थिए। 39भीडहरूलाई पठाइसक्नुभएपछि येशू एउटा डुङ्गामा चढेर मगादानका छेउछाउतिर जानुभयो।
Currently Selected:
मत्ती 15: NCV
Označeno
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.