मत्ती 16
16
चिन्ह देखाउने माग
1एक दिन फरिसीहरू र सदुकीहरूले येशूकहाँ आएर उहाँलाई जाँच गर्दै तिनीहरूका लागि स्वर्गबाट एउटा चिन्ह देखाउन मागे।
2उहाँले भन्नुभयो, “साँझ हुँदा तिमीहरू ‘मौसम राम्रो हुनेछ; किनकि आकाश रातो छ,’ 3अनि बिहान ‘आज आँधी आउनेछ; किनकि आकाश रातो छ अनि बादलले ढाकेको छ,’ भन्छौ। तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लाउनसक्छौ, तर तिमीहरूले समयको चिन्हहरूबाट बुझ्न सक्दैनौ। 4दुष्ट र व्यभिचारी पुस्ताले अचम्मको चिन्ह खोज्दछ, तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।” त्यसपछि येशू तिनीहरूलाई छोडेर गइहाल्नुभयो।
फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार
5जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से। 6“सावधान!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो “फरिसीहरू र सदुकीहरूको खमीरदेखि होसियार रहो।”
7तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौं भनेर होला।”
8तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, “हे अल्पविश्वासीहरूहो, तिमीहरू किन रोटी छैन भनेर आपसमा कुरा गर्दछौ? 9तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, अनि कति डालाभरि तिमीहरूले बटुल्यौ, त्यो सम्झना आउँदैन? 10अथवा चार हजारका निम्ति सात रोटी थिए, अनि तिमीहरूले कति डाला बटुल्यौ? 11मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमीरदेखि होसियार बस।” 12तब उहाँले रोटीमा हाल्ने खमीरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे।
पत्रुसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गरेका
13जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसका पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो।
14तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना; कसैले एलिया भन्छन्; अनि अझ अरूले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”
15उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरू मलाई म को हुँ भन्छौ?”
16सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।”
17येशूले जवाफ दिनुभयो, “योनाको छोरो सिमोन, तिमी धन्यका हौ, किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो। 18अनि म तिमीलाई भन्दछु, कि तिमी पत्रुस#16:18 ग्रीक भाषामा पत्रुस को अर्थ चट्टान हुन्छ। हौ, अनि म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्। 19म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ, अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ।” 20तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो।
आफ्नो मृत्युबारे येशूको पहिलो भविष्यवाणी
21त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, अनि प्रधानहरू, मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्टहरू सहनुपर्छ अनि उहाँ मर्नुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्न थाल्नुभयो।
22पत्रुसले उहाँलाई एकातिर लगेर “यसो कहिल्यै नहोस्, प्रभु! तपाईंलाई यस्तो कहिल्यै नहोस्” भनी हप्काउन थाले।
23येशूले फर्केर पत्रुसलाई भन्नुभयो, “ए शैतान, मबाट टाढा जा! तँ मेरो लागि ठेस लाग्ने कारण होस्। तेरो मनमा परमेश्वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”
24तब येशूले चेलाहरूलाई भन्नुभयो, “यदि कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफैलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। 25किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर जसले मेरो निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ। 26कुनै मानिसले सारा संसार हात पारेर आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा होला? अथवा कुनै मानिसले आफ्नो प्राणको बदला के दिन सक्ला र? 27किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसित आउनेछन्, अनि त्यस बेला उनले हरेक व्यक्तिलाई उसले जे गरेको छ, त्यसअनुसार प्रतिफल दिनेछन्।
28“म तिमीहरूलाई साँच्चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले मानिसका पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेका नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
Currently Selected:
मत्ती 16: NCV
Označeno
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.