YouVersion लोगो
खोज आइकन

रोमी 2:1-16

रोमी 2:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्‍यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्‍यही काम गर्छौ। यस्‍ता काम गर्नेहरूमाथि परमेश्‍वरको इन्‍साफ ठीकसँग पर्छ भनेर हामी जान्‍दछौं। ए मानिस, तिमीले यस्‍ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्‍यही काम गर्छौ भने, के परमेश्‍वरको इन्‍साफबाट उम्‍कन्‍छु भन्‍ने तिमी ठान्‍छौ? अथवा परमेश्‍वरको कृपाले तिमीलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्‍ततालाई तुच्‍छ ठान्‍छौ? तर परमेश्‍वरको धार्मिक इन्‍साफ प्रकट हुने त्‍यस क्रोधका दिनको लागि आफ्‍नो कठोर र अपश्‍चात्तापी हृदयले गर्दा तिमीले आफ्‍नो निम्‍ति क्रोध थुपारिरहेछौ। किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ। धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ। तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ। खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्‍ट र आपद्‌ आइपर्नेछ, पहिले यहूदीमाथि र अन्‍यजातिहरूमाथि पनि। तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्‍यजातिलाई पनि गौरव, इज्‍जत र शान्‍ति प्राप्‍त हुनेछ। किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न। सबै जसले व्‍यवस्‍थाविना पाप गरेका छन्, तिनीहरू व्‍यवस्‍थाविना नै नष्‍ट पनि हुनेछन्, र व्‍यवस्‍थामुनि रहेर पनि पाप गर्नेहरूको इन्‍साफ व्‍यवस्‍थाद्वारा नै हुनेछ। किनकि व्‍यवस्‍था सुन्‍नेहरू परमेश्‍वरको सामुन्‍ने धर्मी ठहरिँदैनन्, तर व्‍यवस्‍था पालन गर्नेहरू धर्मी ठहरिनेछन्‌। किनकि व्‍यवस्‍था नहुने अन्‍यजातिहरू स्‍वाभावैले व्‍यवस्‍थाअनुसारका काम गर्दछन्‌ भने, तिनीहरूको व्‍यवस्‍था नभए तापनि तिनीहरू आफ्‍ना निम्‍ति आफै व्‍यवस्‍था हुन्‍छन्‌। व्‍यवस्‍थाले चाहेका कुराहरू आफ्‍ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्‍नै विवेकले पनि गवाही दिन्‍छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्‍याउँछन्, र कहिले समर्थन गर्छन्‌। यो त्‍यस दिन हुनेछ जब परमेश्‍वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा मानिसहरूका गुप्‍त कुराको इन्‍साफ गर्नुहुनेछ।

शेयर गर्नुहोस्
रोमी 2 पढ्नुहोस्

रोमी 2:1-16 नेपाली समकालीन संस्करण (NCV)

यसकारण ए मानिस तिमी, जो अरूलाई दोष लगाउँछौ, तिमीहरूलाई केही बहाना छैन; किनकि जसरी तिमी अरूको न्याय गर्दछौ, त्यसरी नै आफूलाई पनि दोषी तुल्याइरहेका छौ; किनकि जुन कुराको निम्ति अरूलाई दोषी तुल्याउँछौ, तिमीले पनि त्यही काम गरिरहेका हुन्छौ। हामी जान्दछौं कि, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्‍वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ। यसकारण ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने, के तिमी परमेश्‍वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ? अथवा परमेश्‍वरको दयाले तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने कुराको आभाष नगरी तिमी परमेश्‍वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ? तर तिमीहरूका आफ्ना हठी स्वभाव र अपश्‍चात्तापी हृदयका कारण परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। परमेश्‍वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।” परमेश्‍वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्। तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्‍टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछन्। दुष्‍ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्‍ट आइपर्नेछन्: पहिले यहूदीहरूमाथि, त्यसपछि गैरयहूदीहरू माथि; तर जसले काम असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीहरूलाई, अनि गैरयहूदीहरूलाई। किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न। यद्यपि गैरयहूदीहरूसँग परमेश्‍वरको लिखित व्यवस्था कहिल्यै थिएन, जब उनीहरू पाप गर्छन्, उनीहरू नष्‍ट हुनेछन्; र यहूदीहरू, जससँग परमेश्‍वरको व्यवस्था छ, जब उनीहरू यसको पालना गर्न असफल हुन्छन्, यही व्यवस्थाद्वारा उनीहरूको न्याय गरिनेछ। किनकि व्यवस्था सुन्‍नेहरू परमेश्‍वरका सामुन्‍ने धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्। वास्तवमा गैरयहूदीहरू व्यवस्थाविना पनि स्वभावैले व्यवस्थाअनुसार चल्दछन्, तब तिनीहरूमा व्यवस्था नभए पनि तिनीहरू आफै व्यवस्था हुन्छन्। परमेश्‍वरको व्यवस्था तिनीहरूका हृदयमा लेखिएको तिनीहरू देखाउँछन्; किनकि तिनीहरूका आफ्नै विवेक र विचारले कि ता तिनीहरूलाई दोष्याउँछन्, कि ता तिनीहरूले गरेका काम सही छन् भनेर भन्छन्। अनि यी कुराहरू त्यस दिन हुनेछ, जब मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले मानिसहरूका गोप्य कुराहरूको न्याय गर्नुहुनेछ।

शेयर गर्नुहोस्
रोमी 2 पढ्नुहोस्

रोमी 2:1-16 पवित्र बाइबल (NERV)

यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैंले आफूलाई जाँच गरिरहेका हुनेछौ। ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ। तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफैं पनि त्यस्तै नराम्रो काम गरिरहेका हुन्छौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ। के तिमी परमेश्वरको दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ? तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफैं प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ। परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ। कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैँ असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ। तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ। जसले दुष्ट कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहूदीहरूलाई र गैर-यहूदीहरूलाई पनि। तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहूदीहरूलाई र त्यसपछि गैर-यहूदीहरूलाई। परमेश्वरले सबैलाई समान न्याय गर्नु हुनेछ। जस-जसले व्यवस्था बिना पापकर्म गरेकाछन् तिनीहरू व्यवस्था बिना नै नाश हुनेछन्। जसले व्यवस्था पाएर पनि पाप कर्महरू गर्छन् तिनीहरूको न्याय व्यवस्था अनुसार नै गरिने छ। व्यवस्था सुनेर मात्र मानिसहरू परमेश्वरको अघि धार्मिक ठहरिदैनन्, तर व्यवस्थाको पालन गरेर धार्मिक बन्दछन्। गैर-यहूदीहरूसँग व्यवस्थानै छैन। तर जब उनीहरूले व्यवस्था अनुरूपका कुराहरू स्वभावतः गर्छन् भने तिनीहरूसँग व्यवस्था नभए ता पनि व्यवस्था भएकै बराबर हो। किनकि तिनीहरूले सिद्ध गर्छन कि व्यवस्थाले भने अनुसारको कुरा उनीहरूको हृदयमा लेखिएको हुन्छ। र उनीहरूका विवेकले पनि उनीहरूलाई त्यसै भन्छ। अनि उनीहरूको कर्म अनुसारका विचारहरूले तिनलाई दोष्याउँछन वा समर्थन गर्छन्। यी सम्पूर्ण कुराहरू त्यस दिनमा मात्र हुने गर्दछ जब परमेश्वरले मानिसहरूका हृदयका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि जुन सुसमाचार म प्रचार गर्दछु, यसले यही भन्छ कि परमेशवरको न्याय ख्रीष्ट येशू द्वारा हुनेछ।

शेयर गर्नुहोस्
रोमी 2 पढ्नुहोस्

रोमी 2:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो भए हे मित्र, के तिमी अरूलाई दोष लगाउँछौ? तिमीहरू जोसुकै भए पनि दोषी छैनौं भनी बहाना गर्ने ठाउँ नै छैन। अर्कालाई दोष लगाउने तिमीले आफैंलाई दोषी ठहराहँदै छौ किनभने अरूलाई जुन कामको दोष लगाउँछौ, त्‍यही काम तिमीहरू पनि गर्छौ। परमेश्‍वरले पनि यस्‍ता काम गर्ने मानिसहरूलाई सत्‍यको आधारमा दोषी ठहराउनुहुन्‍छ भन्‍ने हामीलाई थाहा छ। हे मित्र, तिमीहरूले यस्‍ता काम गर्ने मानिसहरूलाई दोषी ठहराउँछौ तर आफू भने त्‍यस्‍तै काम गर्छौ। के परमेश्‍वरले तिमीलाई दोषी ठहराउनुहुँदा तिमी उम्‍किन सक्‍छौ? कि उहाँको प्रेमलाई तुच्‍छ ठान्‍छौ? उहाँले धैर्यसाथ पर्खनुहुन्‍छ र तिम्रो हृदय उहाँतिर फर्काउन खोज्‍नुहुन्‍छ। तैपनि तिमीहरूले हृदय कठोर पारेर उहाँतिर फर्कन चाहेनौ। त्‍यसकारण तिमीहरूले रिसको दिनमा अझ ठूलो दण्‍ड पाउनेछौ, जुन दिन परमेश्‍वर न्‍याय गर्न आउनुहुनेछ। परमेश्‍वरले नै हरेक मानिसले गरेको कामको इनाम दिनुहुनेछ। कति जना भलाइको काममा लागिरहेर महिमा, आदर र अजम्‍मरी जीवन खोज्‍दछन्। परमेश्‍वरले उनीहरूलाई अजम्‍मरी जीवन दिनुहुनेछ। अरू मानिसहरूले केवल आफैंलाई मात्र प्रेम गर्छन्, सत्‍यलाई मान्‍दैनन् र खराब कामका पछि लाग्‍छन्। परमेश्‍वरले तिनीहरूमाथि आफ्‍नो रिस खन्‍याउनुहुन्‍छ। खराब काम गर्ने सबै मानिस पहिले यहूदीलाई अनि त्‍यसपछि अरूहरूलाई दु:ख, कष्‍ट हुनेछ। तर परमेश्‍वरले असल काम गर्नेहरूलाई पहिले यहूदी अनि त्‍यसपछि अरूहरूलाई सुख, सम्‍मान् र शान्‍ति दिनुहुनेछ किनभने परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न। परमेश्‍वरले दिनुभएको व्यवस्थाबिना ज-जसले पाप गरे, तिनीहरू त्‍यो व्यवस्थाबिना नै नाश हुनेछन्। व्यवस्था जान्‍नेले पाप गरे भने तिनीहरू त्‍यही व्यवस्थाबाटै दोषी ठहराइन्‍छन् किनभने व्यवस्था सुनेर मात्र मानिसको सम्‍बन्‍ध परमेश्‍वरसँग ठीक हुँदैन तर व्यवस्था पालन गरेर नै परमेश्‍वरसँग मानिसको सम्‍बन्‍ध ठीक रहन्‍छ। अन्यजातिका मानिसहरूसँग यहूदीहरूको व्यवस्था छैन। तर तिनीहरूले स्‍वभावैले व्यवस्थाका कुरा पालन गर्छन्। यी पालन गरेका कुराले नै तिनीहरू आफैँ व्यवस्था हुन् भन्‍ने देखाउँछ। तिनीहरूका हृदयमा व्यवस्थाले चाहेको कुरा लेखिएको छ भनी आफ्‍ना चालचलनले देखाउँछन्। त्‍यसो हुँदा तिनीहरूको विवेकले कुनै बेला आफूलाई दोष लगाउने र कुनै बेला आफ्‍नो लागि बहाना गर्ने गर्छ। यी कुरा परमेश्‍वरले येशू ख्रीष्‍टद्वारा मानिसको हृदयमा भएको गुप्‍त कुराको न्‍याय गर्नुहुने दिनमा हुनेछ। यी कुरा मैले प्रचार गरेको सुसमाचारअनुसार हो।

शेयर गर्नुहोस्
रोमी 2 पढ्नुहोस्