YouVersion लोगो
खोज आइकन

रोमी 2:1-16

रोमी 2:1-16 NCV

यसकारण ए मानिस तिमी, जो अरूलाई दोष लगाउँछौ, तिमीहरूलाई केही बहाना छैन; किनकि जसरी तिमी अरूको न्याय गर्दछौ, त्यसरी नै आफूलाई पनि दोषी तुल्याइरहेका छौ; किनकि जुन कुराको निम्ति अरूलाई दोषी तुल्याउँछौ, तिमीले पनि त्यही काम गरिरहेका हुन्छौ। हामी जान्दछौं कि, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्‍वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ। यसकारण ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने, के तिमी परमेश्‍वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ? अथवा परमेश्‍वरको दयाले तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने कुराको आभाष नगरी तिमी परमेश्‍वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ? तर तिमीहरूका आफ्ना हठी स्वभाव र अपश्‍चात्तापी हृदयका कारण परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। परमेश्‍वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।” परमेश्‍वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्। तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्‍टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछन्। दुष्‍ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्‍ट आइपर्नेछन्: पहिले यहूदीहरूमाथि, त्यसपछि गैरयहूदीहरू माथि; तर जसले काम असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीहरूलाई, अनि गैरयहूदीहरूलाई। किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न। यद्यपि गैरयहूदीहरूसँग परमेश्‍वरको लिखित व्यवस्था कहिल्यै थिएन, जब उनीहरू पाप गर्छन्, उनीहरू नष्‍ट हुनेछन्; र यहूदीहरू, जससँग परमेश्‍वरको व्यवस्था छ, जब उनीहरू यसको पालना गर्न असफल हुन्छन्, यही व्यवस्थाद्वारा उनीहरूको न्याय गरिनेछ। किनकि व्यवस्था सुन्‍नेहरू परमेश्‍वरका सामुन्‍ने धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्। वास्तवमा गैरयहूदीहरू व्यवस्थाविना पनि स्वभावैले व्यवस्थाअनुसार चल्दछन्, तब तिनीहरूमा व्यवस्था नभए पनि तिनीहरू आफै व्यवस्था हुन्छन्। परमेश्‍वरको व्यवस्था तिनीहरूका हृदयमा लेखिएको तिनीहरू देखाउँछन्; किनकि तिनीहरूका आफ्नै विवेक र विचारले कि ता तिनीहरूलाई दोष्याउँछन्, कि ता तिनीहरूले गरेका काम सही छन् भनेर भन्छन्। अनि यी कुराहरू त्यस दिन हुनेछ, जब मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले मानिसहरूका गोप्य कुराहरूको न्याय गर्नुहुनेछ।

रोमी 2 पढ्नुहोस्