रोमी 15:1-6
रोमी 15:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
विश्वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ। हामी प्रत्येकले आफ्नो छिमेकीको आत्मिक सुधार होस् भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्न राखौं। किनकि ख्रीष्टले पनि आफैलाई प्रसन्न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्दा गर्नेहरूको निन्दा ममाथि पर्यो।” अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्यले कि पवित्र-शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौं। स्थिरता र उत्साहका परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्, कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको महिमा तिमीहरू गर्न सक।
रोमी 15:1-6 नेपाली समकालीन संस्करण (NCV)
हामी विश्वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्न तुल्याउने हुनुहुन्न। हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्नतिको निम्ति प्रसन्न राख्नुपर्छ। किनकि ख्रीष्ट आफैले पनि आफूलाई प्रसन्न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।” किनकि विगतमा जे लेखिएको थियो, त्यो हामीलाई शिक्षा दिनको निम्ति लेखिएको थियो, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्त गर्न सकौं। धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा भएको मन जस्तै एक-अर्काप्रति एकताको मन दिऊन्, ताकि तिमीहरू एकै मन र एकै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको महिमा गर्न सक।
रोमी 15:1-6 पवित्र बाइबल (NERV)
हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैंलाई मात्रै खुशी तुल्याउन हुँदैन। तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ। ख्रीष्टले पनि आफू स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।” बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं। धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्। त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ।
रोमी 15:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामी विश्वासमा बलियो हुनेहरूले कमजोरहरूको कमजोरीलाई सहनुपर्छ। हामीले आफूखुसी मात्र गर्नुहुँदैन; तर अरूको पनि वास्ता गर्नुपर्छ। हामी हरेकले आफ्नो छिमेकीको भलाइ र विश्वासमा उन्नति होस् भनेर उनलाई खुसी पार्नुपर्छ किनभने ख्रीष्टले पनि आफूलाई खुसी पार्ने काम गर्नुभएन। त्यस्तै धर्मशास्त्रमा पनि लेखिएको छ, “तपाईंलाई हप्काउनेहरूका हप्की ममाथि परेका छन्।” धर्मशास्त्रमा लेखिएको कुराले हामीलाई शिक्षा दिन्छ। हाम्रो आशालाई बढाउन धर्मशास्त्रको कुराले हामीलाई सहने शक्ति र उत्साह दिन्छ। सहने शक्ति र उत्साह दिने परमेश्वरले नै तिमीहरूलाई येशू ख्रीष्टको चालमा चल्ने र एकै मनको हुने शक्ति देऊन्। यसरी तिमीहरू सबैबाट एकै मनको भएर एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरको जय-जयकार हुन सकोस्।