प्रकाश 22:11-21

प्रकाश 22:11-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस्, अश्‍लील काम गर्नेले अश्‍लील काम गरिरहोस्, धर्मात्‍माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्‌।” “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ। म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ। “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्‍न पाऊँ भनी आफ्‍ना वस्‍त्र धुनेहरू धन्‍यका हुन्‌। बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌। “म येशूले आफ्‍ना दूतलाई तिमीकहाँ मण्‍डलीहरूका निम्‍ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्‍तान, अनि बिहानको चहकिलो तारा म नै हुँ।” पवित्र आत्‍मा र दुलही भन्‍नुहुन्‍छ, “आउनुहोस्‌।” जसले सुन्‍छ त्‍यसले भनोस्, “आउनुहोस्‌।” जो तिर्खाउँछ त्‍यो आओस्, जसले इच्‍छा गर्छ त्‍यसले जीवनको पानी सित्तैँमा लिओस्‌। यस पुस्‍तकको अगमवाणीका वचन सुन्‍ने हरेक मानिसलाई म चेताउनी दिन्‍छु: यदि कसैले तिनमा थप्‍यो भने यस पुस्‍तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्‍यसमाथि थपिदिनुहुनेछ। अनि कसैले यस अगमवाणीको पुस्‍तकका वचनबाट केही घटायो भने, यस पुस्‍तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्‍यसले पाउने हिस्‍सा परमेश्‍वरले त्‍यसबाट खोस्‍नुहुनेछ। यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, “निश्‍चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू। प्रभु येशूको अनुग्रह सबै सन्‍तहरूसँग रहोस्‌। आमेन।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्

प्रकाश 22:11-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जसले खराबी गर्छ, त्यसले खराबी नै गरिरहोस्; जो अश्लील छ, त्यो अश्लीलै रहोस्; जो ठिक छ, त्यसले ठिकै गरिरहोस्; अनि जो पवित्र छ, त्यो पवित्र नै भइरहोस्।” “हेर, म चाँडै आउँदैछु! मेरो पुरस्कार मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु। म नै अल्फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्त्य हुँ। “जीवनको रूखको अधिकार पाउन र सहरका ढोकाहरू भित्र पस्‍न पाऊँ भनेर आफ्ना वस्त्र शुद्ध राख्नेहरू धन्यका हुन्। बाहिरचाहिँ कुकुरहरू; तन्त्रमन्त्र गर्नेहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झूट मन पराउने र त्यसैअनुसार चल्नेहरू हुन्छन्। “म येशूले मण्डलीहरूलाई यो गवाही दिनू भनी मेरो दूतलाई तिमीकहाँ पठाएको छु। म दावीदको मूल र सन्तान, र बिहानको चहकिलो तारा हुँ।” आत्मा र दुलही भन्‍नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; अनि जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्। म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने परमेश्‍वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ। यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने परमेश्‍वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ। यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्‍नुहुन्छ, “हेर, म चाँडै आउँदैछु।” आमेन! आउनुहोस्, हे प्रभु येशू! प्रभु येशूको अनुग्रह परमेश्‍वरका सबै जनहरूसँग रहोस्! आमेन।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्

प्रकाश 22:11-21 पवित्र बाइबल (NERV)

त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।” “सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरू ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु। मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ। “ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउँनेछन् तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्। नगर बाहिर कुकुरहरू, जादूवालाहरू यौन-पापीहरू, हत्याराहरू, मूर्त्ति पूजकहरू अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरू छन्। “मैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।” आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्। म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्छ यदि कुनै मानिसले यी वचनहरूमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरू दिनु हुनेछ। अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरू हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ। येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरू सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।” आमिन। हे प्रभु येशू! आउनुहोस्। प्रभु येशूको अनुग्रह समस्त मानिसहरू साथ रहोस्। आमिन।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्

प्रकाश 22:11-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जो दुष्‍ट छ, त्‍यो दुष्‍टै हुँदैजान्‍छ, जो फोहोरी छ, त्‍यो फोहोरी नै हुँदैजान्‍छ। जो ठीक र धर्मी छ, त्‍यो त्‍यस्‍तै हुँदै जान्‍छ र जो पवित्र छ, त्‍यो पवित्रै हुँदैजान्‍छ।” “हेर, म चाँडै आउनेछु,” येशू भन्‍नुहुन्‍छ, “आफ्‍ना-आफ्‍ना कामअनुसार सबैलाई दिने इनाम लिएर आउँदै छु। म अल्‍फा र ओमेगा, आदि र अन्‍त हुँ।” आफ्‍ना लुगा धोएर सफा राख्‍नेहरू धन्‍य हुन्। तिनीहरूले जीवनको रूखका फल खान र ती सहरका ढोकामा पस्‍ने हक पाउनेछन्। तर सहरबाहिरचाहिँ छाडाहरू, टुनामुना गर्नेहरू, व्‍यभिचारीहरू, मूर्ति पुज्‍नेहरू र आफ्‍ना काम र वचन दुवैमा झूट हुनेहरू छन्। “म येशूले तिमीकहाँ मण्‍डलीमा भएका सबैलाई यी कुराहरू थाहा दिन मेरा स्‍वर्गदूत पठाएको छु। म दाऊद राजाको कुलको हुँ। म बिहानको चम्‍किलो तारा हुँ।” पवित्र आत्‍मा र दुलहीले “आउनुहोस्!” भन्‍छन्, जसले सुन्‍छ, उसले पनि “आउनुहोस्!” भनोस्। जसलाई तिर्खा लाग्‍छ, चाहेको जति जीवनको पानी सित्तैमा पिउन आओ! यस पुस्‍तकका अगमवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म यूहन्‍नाले यो चेतावनी दिन्‍छु, यिनमा केही थप्‍छ भने उसलाई परमेश्‍वरले यस पुस्‍तकमा बताएका विपत्तिहरू थपिदिनुहुनेछ। कसैले केही कुरा यो पुस्‍तकमा लेखिएको अगमवाणी वचनबाट निकाल्‍छ भने परमेश्‍वरले जीवनको रूखको फलबाट उसको भाग काटिदिनुहुनेछ अनि पवित्र सहरबाट उसलाई निकाल्‍नुहुनेछ। जसले यी सबै कुरामा साक्षी दिनुहुन्‍छ, उहाँले नै भन्‍नुहुन्‍छ, “साँच्‍चै म चाँडै आउनेछु।” आमेन। आउनुहोस्, हे प्रभु येशू! प्रभु येशूको अनुग्रह सबैसित भइरहोस्! आमेन।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्