प्रकाश 21:3-5
प्रकाश 21:3-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।” सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।”
प्रकाश 21:3-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, “हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका जातिहरू हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।” सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।”
प्रकाश 21:3-5 पवित्र बाइबल (NERV)
मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरूसँग छ। उनी तिनीहरूसँग रहनेछन्। तिनीहरू उनका मानिसहरू हुनेछन्। परमेश्वर स्वयं तिनीहरूसित हुनेछन् अनि तिनीहरूका परमेश्वर बन्नेछन्। परमेश्वरले तिनीहरूको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए।” उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।”
प्रकाश 21:3-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सिंहासनबाट ठूलो सोरमा यसो भनेको मैले सुनें, “हेर! अबदेखि परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र उनीहरू उहाँकै मानिसहरू हुनेछन्। परमेश्वर आफैं उनीहरूसित हुनुहुनेछ अनि उहाँ उनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि कोही मर्नुपर्नेछैन। कसैले पनि शोक मानेर रुनेछैन, कुनै किसिमको दु:ख हुँदैन। पुराना सबै कुरा बितिसकेका छन्। तब सिंहासनमा विराजमान् हुनुहुने परमेश्वरले भन्नुभयो, “हेर! अब म सबै कुरा नयाँ बनाउँछु।” उहाँले मलाई यसो पनि भन्नुभयो, “यी कुरा लेख किनभने ती साँचा र विश्वास गर्न सकिने कुरा हुन्।”