भजनसंग्रह 42:4-11
भजनसंग्रह 42:4-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्झना हुन्छ: म कसरी ती उत्सव मनाउने जन-समूहसित हर्ष र धन्यवादसाथ जाने, र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्वरको मन्दिरतर्फ लाने गर्थें। हे मेरो प्राण, तँ किन उदास हुन्छस्? र मेरो अन्तस्करणमा तँ किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख्, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ। अन्तस्करणमा मेरो मन उदास भएको छ, यसकारण म यर्दनको देशबाट र हेर्मोन र मिसारको डाँड़ाबाट तपाईंलाई सम्झनेछु। तपाईंका छहराको गर्जनमा सागरले सागरलाई पुकार्दछ, तपाईंका सम्पूर्ण छाल र तरङ्गहरूले मलाई छोपेका छन्। परमप्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्छ, र राती उहाँको भजन मसित हुन्छ, जो मेरो जीवनका परमेश्वरलाई प्रार्थना हो। मेरा परमेश्वर मेरो चट्टानलाई म भन्छु, “तपाईंले किन मलाई बिर्सनुभएको छ? शत्रुहरूको थिचोमिचोमा परेर म किन शोक गरेर हिँड़िरहनुपर्ने?” मेरा हाड़हरूमा घातक चोट पारेझैँ, मेरा शत्रुहरू मलाई गिल्ला गर्दै लगातार मलाई भन्छन्, “खोइ त तेरा परमेश्वर?” हे मेरो प्राण, तँ किन उदास हुन्छस्? र मेरो अन्तस्करणमा तँ किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख्, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ।
भजनसंग्रह 42:4-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरू म सम्झन्छु: कसरी ती उत्सव मनाउने जन समूहहरूसँग जयजयकार र धन्यवादसाथ, महान् परमेश्वरको सुरक्षामा म अगुवा भएर तिनीहरूलाई परमेश्वरको भवनतर्फ लाने गर्थेँ। हे मेरो प्राण, तँ किन उदास हुन्छस्? मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु। मेरो प्राण मभित्र उदास भएको छ; यसकारण म यर्दनको देशबाट हेर्मोन पर्वत—मिसारको डाँडाबाट तपाईंलाई सम्झनेछु। तपाईंको छाँगाहरूका गर्जनमा, सागरले सागरलाई पुकार्दछ; तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले मलाई छोपेका छन्। याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ, राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ, जुनचाहिँ मेरो जीवनको परमेश्वरलाई प्रार्थना हो। परमेश्वर मेरा चट्टानलाई म भन्छु, “तपाईंले मलाई किन बिर्सनुभएको? शत्रुको थिचोमिचोले गर्दा म किन शोक गरेर हिँडिरहनुपर्ने?” मेरा हाडहरूमा गहिरो चोट पर्छ, जब मेरा वैरीहरूले मलाई गिल्ला गर्दै दिनभरि भन्छन्, “खोइ त तेरो परमेश्वर?” हे मेरो प्राण, तँ किन उदास हुन्छस्? हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
भजनसंग्रह 42:4-11 पवित्र बाइबल (NERV)
जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु मेरो हृदय चर्किएर आउँछ। तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु। ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु। म यति उदास किन हुनु पर्ने? म किन यति साह्रो विचलित हुने! म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनु हुन्छ! किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ, यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ। पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै खोला बगेको आवाज म सुन्छु। हे परमप्रभु, तपाईंका छालहरूले, मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्। प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा देखाउनु हुन्छ अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिएँ। म परमेश्वर, मेरो चट्टानसँग कुरा गर्छु म भन्छु, “हे परमप्रभु, किन तपाईंले मलाई बिर्सनु भयो? शत्रुको क्रूरताको कारणले गर्दा? त्यस्तो उदासीनता मैले किन खप्नु?” मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछन्, अनि मलाई सोध्दछन्, “तेरो परमेश्वर कहाँ छन्? के तँलाई बचाउन अहिलेसम्म आएको छैन?” मैले यति उदास किन हुन पर्छ? किन मैले यति विरक्तिनु पर्छ? मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ। म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु। उहाँले मेरो रक्षा गर्नु हुनेछ!
भजनसंग्रह 42:4-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बितेका दिन याद गर्दा मेरो हृदय टुक्रा-टुक्रा हुँदछ। त्यस बेला म झुण्ड-झुण्डसँग मिली परमेश्वरको मन्दिरमा जान्थें र तिनीहरूको अघि-अघि हिँड्दथे। आनन्दले भरिएको झुण्ड परमेश्वरको प्रशंसामा गाउँदै-कराउँदै हिँड्थे। म किन यति अफसोसी छु? किन म यति कष्ठित छु? म परमेश्वरमा आफ्नो आशा राख्नेछु, फेरि पनि म आफ्ना परमेश्वर र उद्धारकको प्रशंसा गर्नेछु! यहाँ परमेश्वरमा मेरो हृदय खिन्न भएको छ। यसैले म मेरा सोच-विचार परमेश्वरतिर फर्काउँछु। उहाँले मेरो आत्मामा अफसोसको भल बगाउनुहुनेछ। हेर्मोन र मिसार पहाडबाट तल यर्दन नदीतिर गर्जंदै बग्ने झरनाझैँ खलबलीको बाढीले मलाई छोपेको छ। परमप्रभुले दिउँसो मलाई आफ्नो अटुट प्रेम देखाऊन्। राती मेरो जीवनका परमेश्वरलाई म एउटा गीत र प्रार्थना चढाउनेछु। मेरो रक्षा गर्नुहुने परमेश्वरलाई म भन्दछु– “किन तपाईंले मलाई भुल्नुभयो? किन मेरा बैरीहरूका निष्ठुरताले मैले कष्ट भोगिरहनुपर्ने हो?” तिनीहरूले गरेका अपमानले मलाई चुर पारिदिनुभयो, तिनीहरू मलाई सोधिरहन्छन्, “तिम्रा परमेश्वर कहाँ छन्?” किन म यति अफसोसी छु? किन म यति कष्टित छु। म परमेश्वरमा आफ्नो आशा राख्नेछु र फेरि पनि म आफ्ना परमेश्वर र उद्धारकको प्रशंसा गर्नेछु।