भजनसंग्रह 42

42
दोस्रो भाग
(भजनसंग्रह ४२—७२)
निर्वासित मानिसको प्रार्थना
1जसरी एउटा हरिणले चिसो पानीको तृष्‍णा गर्छ,
त्‍यसरी मलाई तपाईंको तृष्‍णा छ, हे परमेश्‍वर!
2म तपाईं जिउँदो परमेश्‍वरको निम्‍ति तिर्खाउँछु,
म कहिले आएर तपाईंको उपस्‍थितिमा उपासना गर्न सक्‍छु?
3रात-दिन म रुँदै छु,
आँसु मात्र मेरो भोजन भएको छ,
सबै समय मेरा शत्रुहरूले सोध्‍छन्,
“तिम्रा परमेश्‍वर कहाँ छन्?”
4बितेका दिन याद गर्दा मेरो हृदय टुक्रा-टुक्रा हुँदछ।
त्‍यस बेला म झुण्‍ड-झुण्‍डसँग मिली परमेश्‍वरको मन्‍दिरमा जान्थें
र तिनीहरूको अघि-अघि हिँड्दथे।
आनन्‍दले भरिएको झुण्‍ड परमेश्‍वरको प्रशंसामा गाउँदै-कराउँदै हिँड्थे।
5म किन यति अफसोसी छु?
किन म यति कष्ठित छु?
म परमेश्‍वरमा आफ्‍नो आशा राख्‍नेछु,
फेरि पनि म आफ्‍ना परमेश्‍वर र उद्धारकको प्रशंसा गर्नेछु!
6-7यहाँ परमेश्‍वरमा मेरो हृदय खिन्‍न भएको छ।
यसैले म मेरा सोच-विचार परमेश्‍वरतिर फर्काउँछु।
उहाँले मेरो आत्‍मामा अफसोसको भल बगाउनुहुनेछ।
हेर्मोन र मिसार पहाडबाट तल यर्दन नदीतिर गर्जंदै बग्‍ने झरनाझैँ
खलबलीको बाढीले मलाई छोपेको छ।
8परमप्रभुले दिउँसो मलाई आफ्‍नो अटुट प्रेम देखाऊन्।
राती मेरो जीवनका परमेश्‍वरलाई
म एउटा गीत र प्रार्थना चढाउनेछु।
9मेरो रक्षा गर्नुहुने परमेश्‍वरलाई म भन्‍दछु–
“किन तपाईंले मलाई भुल्‍नुभयो?
किन मेरा बैरीहरूका निष्‍ठुरताले मैले कष्‍ट भोगिरहनुपर्ने हो?”
10तिनीहरूले गरेका अपमानले मलाई चुर पारिदिनुभयो,
तिनीहरू मलाई सोधिरहन्‍छन्, “तिम्रा परमेश्‍वर कहाँ छन्?”
11किन म यति अफसोसी छु?
किन म यति कष्‍टित छु।
म परमेश्‍वरमा आफ्‍नो आशा राख्‍नेछु
र फेरि पनि म आफ्‍ना परमेश्‍वर र उद्धारकको प्रशंसा गर्नेछु।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 42: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्