भजनसंग्रह 10:12-18
भजनसंग्रह 10:12-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, उठ्नुहोस्, हे परमेश्वर, तपाईंको हात उठाउनुहोस्, असहायहरूलाई नबिर्सनुहोस्। दुष्टले किन परमेश्वरको निन्दा गर्छ? त्यसले किन आफ्नो मनमा भन्छ, “उहाँले मेरो लेखा राख्नुहुन्न।” तर हे परमेश्वर, तपाईं दु:ख र शोक देख्नुहुन्छ, तपाईंले ती आफ्नै हातमा लिनुहुन्छ, दु:खीले आफैलाई तपाईंमा सुम्पन्छ, अनाथको सहायक तपाईं नै हुनुहुन्छ। दुष्ट र कुकर्मीको हात भाँचिदिनुहोस्। कुकर्मीका नभेट्टाइने दुष्टताका लेखा लिनुहोस्। परमप्रभु सदासर्वदाको निम्ति राजा हुनुहुन्छ, जाति-जातिहरू उहाँको देशबाट नष्ट हुनेछन्। हे परमप्रभु, पीडितहरूको इच्छा तपाईं सुन्नुहुन्छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्छ। तिनीहरूको पुकारा तपाईं सुन्नुहुन्छ। तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ, ताकि पृथ्वीको मरणशील मानिसले आतङ्क अझै नमच्चाओस्।
भजनसंग्रह 10:12-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, उठ्नुहोस्, हे परमेश्वर, तपाईंको हात उठाउनुहोस्। असहायहरूलाई नबिर्सनुहोस्। किन दुष्टहरूले परमेश्वरको विरोध गर्छन्? तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्, “उहाँले हाम्रो लेखा लिनुहुनेछैन?” तर हे परमेश्वर, तपाईं दुःखीहरूका सङ्कष्ट देख्नुहुन्छ; तपाईंले तिनीहरूका दुःख देख्नुहुन्छ र आफ्नो हातमा लिनुहुन्छ। दुःखीहरूले आफूलाई तपाईंमा सुम्पन्छन्; तपाईं नै अनाथहरूका सहायक हुनुहुन्छ। दुष्ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्; दुष्ट काम गर्नेहरूबाट लेखा लिनलाई बोलाउनुहोस्, ताकि तिनीहरूमा फेरि दुष्टता नभेट्टाइयोस्। याहवेह सदासर्वदाको निम्ति राजा हुनुहुन्छ; उहाँको देशबाट जाति-जातिहरू नष्ट हुनेछन्। हे याहवेह, तपाईंले कष्टमा परेकाहरूको इच्छा बुझ्नुहुन्छ; तपाईं तिनीहरूका पुकार सुन्नुहुन्छ र तिनीहरूलाई उत्साह दिनुहुन्छ। तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ, ताकि मरणशील मानिसले फेरि कसैमाथि आतङ्क नमच्चाओस्।
भजनसंग्रह 10:12-18 पवित्र बाइबल (NERV)
हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्! हे परमेश्वर, ती पापीहरूलाई दण्ड दिनु होस्, असहायहरूलाई नबिर्सनु होस्। किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्? किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न। हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ, अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ! समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँछन्। हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ, जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ। हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्। खराब मानिसको दुष्टता खोज्नुहोस् र उनीहरूको विनाश गर्नुहोस्। परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ। तपाईंको भूमिबाट तिनीहरूलाई हटाउनु होस्! हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्। उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्! हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्। दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढ्ता पीडित हुन नदिनु होस्। दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्।
भजनसंग्रह 10:12-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर, ती दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्! कष्ट पाएकाहरूलाई सम्झनुहोस्! कसरी दुष्ट मानिसले परमेश्वरलाई निन्दा गरेर, “उहाँले मलाई दण्ड दिनुहुन्न” भनी मनमा भन्न सक्छ? तर तपाईंले देख्नुहुन्छ, मानिसका दु:ख-कष्ट जान्नुहुन्छ र मद्दत गर्न सदा तयार हुनुहुन्छ। असहाय मानिस आफैं तपाईंको शरण पर्दछ, तपाईंले सधैँ दरिद्रलाई सहायता गर्नुभएको छ। दुष्ट र खराब मानिसका शक्तिलाई तोड्नुहोस्, तिनीहरूले गरेका खराब कामको निम्ति तिनीहरूले त्यसमा काम गर्न नछोडुञ्जेल तिनीहरूलाई दण्ड दिनुहोस्। परमप्रभु सदाकालको निम्ति राजा हुनुहुन्छ, अरू देवताहरू पुज्ने मानिसहरू उहाँको देशबाट हराइजानेछन्। हे परमप्रभु! दीनजनहरूका प्रार्थना तपाईंले सुन्नुहुनेछ, तपाईंले तिनीहरूलाई साहस दिनुहुन्छ। तपाईंले थिचोमिचोमा परेकाहरू र टुहुरा-टुहुरीहरूको पुकार सुन्नुहुन्छ। तिनीहरूको पक्षमा न्याय गर्नुहुनेछ र अब उसो मरणशील मानिसले कसैलाई विपत्तिमा पार्न सक्नेछैन।