भजनसंग्रह 10
10
भजन 10#10 भजनसंग्रह 9 र 10 सम्भवतः सुरुमा एउटै भजन थिए।
1हे याहवेह, किन तपाईं टाढा उभिनुहुन्छ?
तपाईं सङ्कष्टको समयमा किन आफूलाई लुकाउनुहुन्छ?
2दुष्टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्।
तिनीहरूले रचेका योजनामा उनीहरू फस्छन्।
3तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्;
लोभीहरूलाई आशीर्वाद दिन्छन्, र याहवेहलाई निन्दा गर्छन्।
4दुष्टहरूले आफ्नो घमण्डमा परमेश्वरको खोजी गर्दैनन्;
तिनीहरूका सारा विचारहरूमा परमेश्वरको लागि कुनै स्थान हुँदैन।
5दुष्टहरूका योजनाहरू सधैँ सफल हुन्छन्;
तपाईंका विधिहरू तिनीहरूले इन्कार गर्छन्;
तिनीहरूले आफ्ना सबै शत्रुहरूको उपहास गर्दछन्।
6तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्लाउन सक्नेछैन।”
तिनीहरूले अडान लिन्छन्, “हाम्रो कुनै पनि पुस्तामा विपत्ति आइपर्नेछैन।”
7तिनीहरूका मुख श्राप, छल र हप्कीले भरिएका हुन्छन्;
तिनीहरूका जिब्रोमा दुष्टता र गलत कुरा हुन्छन्।
8तिनीहरू गाउँहरूकै छेउमा ढुकिबस्छन्;
पर्खेर निर्दोषहरूको हत्या गर्दछन्।
तिनीहरूका आँखा असहायहरूलाई गुप्त स्थानहरूमा खोजिरहन्छ।
9तिनीहरू सिंहझैँ झाडीमा ढुकेर बस्छन्;
असहायहरूलाई पक्रनलाई ढुकेर बस्छन्; असहायहरूलाई पक्रन्छन्
र आफ्नो पासोमा पारेर घिसार्दै लैजान्छन्।
10तिनीहरूका शिकारहरू चकनाचुर पारिन्छन्, ती निर्बल भई ढल्छन्,
दुष्टहरूका शक्तिमुनि उनीहरू लडिहाल्छन्।
11तिनीहरूले आफ्नो मनमा भन्दछन्, “हामीले गरेका कुराहरू परमेश्वरले बिर्सनुभएको छ;
उहाँले आफ्नो मुहार ढाक्नुभएको छ, र उहाँले कहिल्यै देख्नुहुन्न।”
12हे याहवेह, उठ्नुहोस्, हे परमेश्वर, तपाईंको हात उठाउनुहोस्।
असहायहरूलाई नबिर्सनुहोस्।
13किन दुष्टहरूले परमेश्वरको विरोध गर्छन्?
तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्,
“उहाँले हाम्रो लेखा लिनुहुनेछैन?”
14तर हे परमेश्वर, तपाईं दुःखीहरूका सङ्कष्ट देख्नुहुन्छ;
तपाईंले तिनीहरूका दुःख देख्नुहुन्छ र आफ्नो हातमा लिनुहुन्छ।
दुःखीहरूले आफूलाई तपाईंमा सुम्पन्छन्;
तपाईं नै अनाथहरूका सहायक हुनुहुन्छ।
15दुष्ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्;
दुष्ट काम गर्नेहरूबाट लेखा लिनलाई बोलाउनुहोस्,
ताकि तिनीहरूमा फेरि दुष्टता नभेट्टाइयोस्।
16याहवेह सदासर्वदाको निम्ति राजा हुनुहुन्छ;
उहाँको देशबाट जाति-जातिहरू नष्ट हुनेछन्।
17हे याहवेह, तपाईंले कष्टमा परेकाहरूको इच्छा बुझ्नुहुन्छ;
तपाईं तिनीहरूका पुकार सुन्नुहुन्छ र तिनीहरूलाई उत्साह दिनुहुन्छ।
18तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ,
ताकि मरणशील मानिसले फेरि कसैमाथि आतङ्क नमच्चाओस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 10: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.