गन्ती 27:12-23
गन्ती 27:12-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ यो अबीराम पहाड़मा उक्ली, र मैले इस्राएलीहरूलाई दिएको देश हेर्। तैंले त्यो देखेपछि तँ पनि तेरो दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्। किनभने जब सीनको उजाड़-स्थानमा भएका पानीहरूमा समुदाय मेरो विरुद्धमा उठेको थियो, तब तिमीहरू दुवैले तिनीहरूका सामु मेरो पवित्रताको कदर नगरेर मेरो आज्ञा भङ्ग गरेका थियौ।” (यो घटना सीनको उजाड़-स्थानमा भएको मेरीबा-कादेशका पानीहरूमा भएको थियो।) मोशाले परमप्रभुलाई भने, “सारा मानव-जातिका आत्माका परमप्रभु परमेश्वरबाट नै यस समुदायमाथि एक जना मानिस नियुक्त होस्, जो तिनीहरूका अगिअगि बाहिर जाने र भित्र आउने होस्, जसले तिनीहरूलाई अगुवाइ गरेर लैजानेछ, र तिनीहरूलाई भित्र ल्याउनेछ। यसरी परमप्रभुका मानिसहरू गोठालो नभएका भेड़ाहरूझैँ नहोऊन्।” परमप्रभुले मोशालाई भन्नुभयो, “आत्मा भएको नूनको छोरो यहोशूलाई तैंले लिएर त्यसमाथि तेरो हात राख्, र त्यसलाई एलाजार पूजाहारी र सारा समुदायको सामुन्ने खड़ा गर्। तिनीहरूको नजरकै सामु त्यसलाई यो दायित्व सुम्पिदे। तैंले त्यसलाई तेरो अख्तियारबाट केही दे, र सारा इस्राएली समुदायले त्यसको हुकुम पालन गरोस्। त्यो एलाजार पूजाहारीकहाँ आउने गरोस्, र एलाजारले चाहिँ परमप्रभुको सामु “ऊरीम” द्वारा फैसला लिएर त्यसलाई बताउने गरोस्। यहोशूकै हुकुमबमोजिम सारा इस्राएलीहरू त्यससँगै आउने र जाने गरून्।” तब परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार मोशाले गरे। तिनले यहोशूलाई लिएर एलाजार पूजाहारी र सारा समुदायको सामुन्ने खड़ा गराए। परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएझैँ तिनले आफ्नो हात उनीमाथि राखे र उनलाई आफ्नो कामको दायित्व सुम्पे।
गन्ती 27:12-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “अबारीमको पहाडमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई दिएको देशलाई हेर्। तैँले त्यो हेरेपछि तँ पनि तेरा दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्नेछस्। किनकि जीनको उजाडस्थानमा पानीको लागि समुदायले विद्रोह गर्दा तिमीहरू दुवैले तिनीहरूका अगि मेरो पवित्रताको आदर गर्नमा मेरो आज्ञापालन गर्नुपर्नेथियो। तर तिमीहरूले गरेनौँ।” (यो जीनको उजाडस्थान कादेशमा भएको मेरीबाको पानीको विषयमा थियो।) मोशाले याहवेहलाई भने, “हे याहवेह, समस्त मानव-जातिलाई जीवन दिनुहुने परमेश्वर, यस समुदायमाथि एक जना मानिस नियुक्त गरिदिनुहोस्। त्यो मानिस, जो तिनीहरूका सामु बाहिर जाने र भित्र आउने, र तिनीहरूलाई अगुवाइ गरेर बाहिर लैजाओस् र भित्र ल्याओस्; ताकि याहवेहका मानिसहरू गोठालाविनाका भेडाहरूजस्तै नहोऊन्।” यसकारण याहवेहले मोशालाई भन्नुभयो, “नूनका छोरा यहोशूलाई लैजा। त्यो मानिसमा नेतृत्वको आत्मा छ र त्यसमाथि तेरो हात राख्। त्यसलाई पुजारी एलाजार र सारा समुदायको सामु खडा गर्। अनि तिनीहरूको उपस्थितिमा त्यसलाई अगुवाको जिम्मेवारी सुम्पिदे। तेरो अधिकारको केही भाग त्यसलाई दिनू, र सारा इस्राएली समुदायले त्यसको आज्ञा मान्नेछन्। त्यो एलाजार पुजारीको अगि खडा होस्, जसले याहवेहको सामु ऊरीमद्वारा यहोशूका निम्ति निर्णय प्राप्त गर्नेछ। यहोशूको आज्ञामा सारा इस्राएली समुदाय बाहिर जानेछन्, र त्यसकै आज्ञामा तिनीहरू भित्र आउनेछन्।” याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले गरे। तिनले यहोशूलाई लगे। अनि तिनलाई पुजारी एलाजार र सारा समुदायको अगि खडा गरे। त्यसपछि तिनले आफ्ना हात तिनीमाथि राखे, र याहवेहले मोशाद्वारा आज्ञा दिनुभएजस्तै अगुवाको जिम्मेवारी सुम्पिदिए।
गन्ती 27:12-23 पवित्र बाइबल (NERV)
त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरुभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ। त्यो भूमि देखे पछि तिम्रो दाज्यू हारून जस्तै तिमी पनि मर्नेछौ। किनभने, सीनैको मरुभूमिमा मानिसहरूले पानीको निम्ति मसँग माग्दा तिमीले मेरो आज्ञा उलंघन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरुभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।) मोशाले परमप्रभुलाई भन्नुभयो, “परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु, म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्। म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।” त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशू नूनको छोरो यी मानिसहरूका नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहरू उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर। तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ। “उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ। यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, तब तिनीहरू घर जानेछन्।” परमप्रभुको आज्ञा अनुसार मोशाले गरे। उनले यहोशूलाई इस्राएलका सारा समुदाय तथा पूजाहारीको सम्मुख उभ्याए। त्यसपछि यहोशू माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।
गन्ती 27:12-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “यो अबीराम पर्वतमाथि जा र जुन देश म इस्राएलीहरूलाई दिँदछु, त्यस देशलाई हेर्। तैँले त्यो देश हेरेपछि तेरा दाजु हारूनझैँ तँ मर्नेछस् किनभने सीनको उजाड-भूमिमा तिमीहरू दुवैले मेरा आज्ञाको विरोध गर्यौ। जब सारा समुदायले मेरीबामा मेरो विरुद्धमा गनगन गरे, तिमीहरूले तिनीहरूका सामुन्ने मेरो पवित्र शक्ति स्वीकार गरेनौ।” (मेरीबा सीनको उजाड-भूमिमा कादेशको एउटा सानो खोला हो।) मोशाले प्रार्थना गरे, “परमप्रभु परमेश्वर, सारा प्राणीका मूल! म बिन्ती गर्दछु, यी मानिसहरूलाई अगुवाइ गर्न सक्ने एउटा मानिस नियुक्त गर्नुहोस्। जसले लडाइँमा पनि आदेशहरू दिन सक्छन् र तपाईंका मानिसहरू गोठालाबिनाका भेडाझैँ हुनेछैनन्।” परमप्रभुले मोशालाई भन्नुभयो, “नूनको छोरो यहोशूलाई लिएर त्यसको शिरमाथि हात राख्। त्यो एक योग्य मानिस हो। त्यसलाई पूजाहारी एलाजार र सारा समुदायको सामुन्ने उभिन लगा र तिनीहरूका सबैको अघि तँपछि तिनीहरूको अगुवा त्यो हो भनी घोषणा गर्। तेरो अधिकारको केही भाग त्यसलाई सुम्पिदे र सारा इस्राएलले उसको आज्ञा मानोस्। त्यो पूजाहारी एलाजारमाथि भरपर्नेछ र एलाजारले ऊरीम र तुम्मीमद्वारा मेरो इच्छा बुझ्नेछ। यस प्रकारले एलाजारले यहोशूलाई बाटो देखाउनेछ र सबै विषयमा इस्राएली समुदायलाई पनि अगुवाइ गर्नेछ।” परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले सबै कुरा गरे। तिनले यहोशूलाई एलाजार र सारा समाजको अघि उभ्याए। परमप्रभुको आज्ञाअनुसार मोशाले आफ्ना हात यहोशूको शिरमा राखे र तिनलाई आफ्नो उत्तराधिकारी र इस्राएलीहरूको अगुवा हो भनी घोषणा गरे।