तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ यो अबीराम पहाड़मा उक्ली, र मैले इस्राएलीहरूलाई दिएको देश हेर्। तैंले त्यो देखेपछि तँ पनि तेरो दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्। किनभने जब सीनको उजाड़-स्थानमा भएका पानीहरूमा समुदाय मेरो विरुद्धमा उठेको थियो, तब तिमीहरू दुवैले तिनीहरूका सामु मेरो पवित्रताको कदर नगरेर मेरो आज्ञा भङ्ग गरेका थियौ।” (यो घटना सीनको उजाड़-स्थानमा भएको मेरीबा-कादेशका पानीहरूमा भएको थियो।) मोशाले परमप्रभुलाई भने, “सारा मानव-जातिका आत्माका परमप्रभु परमेश्वरबाट नै यस समुदायमाथि एक जना मानिस नियुक्त होस्, जो तिनीहरूका अगिअगि बाहिर जाने र भित्र आउने होस्, जसले तिनीहरूलाई अगुवाइ गरेर लैजानेछ, र तिनीहरूलाई भित्र ल्याउनेछ। यसरी परमप्रभुका मानिसहरू गोठालो नभएका भेड़ाहरूझैँ नहोऊन्।” परमप्रभुले मोशालाई भन्नुभयो, “आत्मा भएको नूनको छोरो यहोशूलाई तैंले लिएर त्यसमाथि तेरो हात राख्, र त्यसलाई एलाजार पूजाहारी र सारा समुदायको सामुन्ने खड़ा गर्। तिनीहरूको नजरकै सामु त्यसलाई यो दायित्व सुम्पिदे। तैंले त्यसलाई तेरो अख्तियारबाट केही दे, र सारा इस्राएली समुदायले त्यसको हुकुम पालन गरोस्। त्यो एलाजार पूजाहारीकहाँ आउने गरोस्, र एलाजारले चाहिँ परमप्रभुको सामु “ऊरीम” द्वारा फैसला लिएर त्यसलाई बताउने गरोस्। यहोशूकै हुकुमबमोजिम सारा इस्राएलीहरू त्यससँगै आउने र जाने गरून्।” तब परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार मोशाले गरे। तिनले यहोशूलाई लिएर एलाजार पूजाहारी र सारा समुदायको सामुन्ने खड़ा गराए। परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएझैँ तिनले आफ्नो हात उनीमाथि राखे र उनलाई आफ्नो कामको दायित्व सुम्पे।
गन्ती 27 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 27:12-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू