YouVersion लोगो
खोज आइकन

मत्ती 22:34-46

मत्ती 22:34-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए। तिनीहरूमध्‍ये एक जना व्‍यवस्‍थाका अध्‍यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, “गुरुज्‍यू, व्‍यवस्‍थामा महान्‌ आज्ञा कुन हो?” उहाँले तिनलाई भन्‍नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू। महान्‌ र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू। सारा व्‍यवस्‍था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्‌।” जब फरिसीहरू भेला भएका थिए, तब येशूले तिनीहरूलाई एउटा प्रश्‍न गर्नुभयो, “ख्रीष्‍टको विषयमा तिमीहरू के ठान्‍छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसो भए दाऊदले आत्‍मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्‍छन्‌? उनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्‍दिनँ’।” यदि दाऊदले उसलाई प्रभु भन्‍दछन्‌ भने, ऊ कसरी तिनको पुत्र हुन्‍छ र?” अनि कसैले पनि जवाफमा एक वचन बोल्‍न सकेन। त्‍यस दिनदेखि कसैलाई उहाँसँग प्रश्‍न सोध्‍ने आँट भएन।

शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्

मत्ती 22:34-46 नेपाली समकालीन संस्करण (NCV)

येशूले सदुकीहरूलाई चूप बनाइदिनुभयो भनेको सुनेर फरिसीहरू एकसाथ भेला भए। तीमध्ये एकजना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गर्‍यो: “हे गुरु, व्यवस्थामा कुनचाहिँ सबैभन्दा महान् आज्ञा हो?” येशूले जवाफ दिनुभयो: “ ‘तिमीले प्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले अनि आफ्नो सम्पूर्ण प्राणले अनि आफ्नो सम्पूर्ण मनले प्रेम गर।’ यो पहिलो अनि सबैभन्दा महान् आज्ञा हो। अनि दोस्रो उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूका छिमेकीलाई आफूलाई झैं प्रेम गर।’ सबै व्यवस्था र अगमवक्‍ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।” जब फरिसीहरू एकसाथ भेला भएका थिए, येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू ख्रीष्‍टको विषयमा के विचार गर्छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले जवाफ दिए, “दाविदका पुत्र।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए दाविदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्, “ ‘प्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हाततिर बस।” ’ यदि दाविदले उहाँलाई ‘प्रभु’ भन्छन् भने, उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” यसको जवाफमा कसैले एक शब्द पनि भन्‍न सकेन, अनि त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।

शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्

मत्ती 22:34-46 पवित्र बाइबल (NERV)

येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए। एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो। त्यस फरिसीले येशूलाई सोध्यो, “गुरूज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?” येशूले जवाफ दिनुभयो, “‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’ यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो। दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’ अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुइ आज्ञाहरूमा आधारित छन्।” जब फरिसीहरू त्यहाँ भेला भईरहेका थिए, येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, “ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।” फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।” त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “यदि त्यसो भए दाउदले उहाँलाई किन ‘परमप्रभु’ भने? दाऊद पवित्र आत्माको शक्तिद्वारा बोलिरहेका थिए। दाऊदले भने, ‘प्रभुले मेरो प्रभुलाई भन्नुभयो: मेरो दाहिनेपटि बस, अनि म तिम्रो शत्रुहरूलाई तिम्रा वशमा राख्नेछु।’ दाऊदले ख्रीष्टलाई ‘परमप्रभु’ भन्दछन्। त्यसो भए कसरी उनि दादको पुत्र हुनसक्छन्?” कुनै पनि फरिसीहरूले येशूको यो प्रश्नको जवाफ दिन सकेनन्। अनि त्यसदिनदेखि कसैले पनि येशूलाई अझ बढ़ता प्रश्नहरू गर्ने साहस गरेनन्।

शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्

मत्ती 22:34-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने कुरा सुनेर फरिसीहरू एक गुट बाँधेर येशूकहाँ आए। तिनीहरूमध्‍ये एक जना धर्म-गुरुले येशूलाई फसाउने विचारले सोधे, “हे गुरु, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?” येशूले जवाफ दिनुभयो, “तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो पूरा हृदय, पूरा प्राण र पूरा मनले प्रेम गर। सबैभन्दा मुख्‍य र ठूलो आज्ञा यही हो। अनि यस्‍तै अर्को मुख्‍य र ठूलो आज्ञाचाहिँ, ‘आफ्‍नो छिमेकीलाई आफैंलाई जस्‍तै प्रेम गर।’ मोशाका सबै व्यवस्था र अगमवक्ताका शिक्षाहरूको आधार यी दुई आज्ञा हुन्।” त्‍यस बेला येशूले गुट बाँधेर आएका फरिसीहरूलाई सोध्‍नुभयो, “मुक्ति दिने राजा ख्रीष्‍टको बारेमा तिमीहरूको के विचार छ त? उनी कसका सन्‍तान हुन्?” तिनीहरूले जवाफ दिए, “उनी त दाऊदका सन्‍तान हुन्।” येशूले सोध्‍नुभयो, “त्‍यसो भए किन दाऊदलाई परमेश्‍वरको आत्‍माले उहाँलाई ‘प्रभु’ भन्‍न लाउनुभयो? किनभने दाऊद आफैंले त यसरी भनेका छन्– परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतालामुनि नपारुञ्‍जेल तिमी मेरो दाहिनेपट्टि नै बस।’ यसरी दाऊद आफैंले ख्रीष्‍टलाई प्रभु भनेपछि कसरी ख्रीष्‍टलाई दाऊदको सन्‍तान भन्‍ने?” तर कसैले पनि कुनै जवाफ दिन सकेनन्। अनि त्‍यस दिनदेखि कसैले पनि येशूलाई कुनै कुरा सोध्‍ने आँटसमेत गरेनन्।

शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्