लूका 6:1-11
लूका 6:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शबाथ-दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदैहुनुहुन्थ्यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्दै खान लागे। तर फरिसीहरूमध्ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ?” येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे? कसरी परमेश्वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।” अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र शबाथको प्रभु हो।” अर्को शबाथमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्यहाँ एक जना मानिस थियो जसको दाहिने हात सुकेको थियो। उहाँले शबाथमा निको पार्ने काम गरेको खण्डमा उहाँलाई दोष लगाउने नियतले शास्त्री र फरिसीहरू उहाँको चेवामा थिए। तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो, र सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ आऊ र खड़ा होऊ।” अनि त्यो उठ्यो, र खड़ा भयो। तब येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, शबाथमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुनचाहिँ उचित हो?” अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले त्यसै गर्यो, र त्यसको हात सद्दे भइहाल्यो। तर तिनीहरू रीसले चूर भए, र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे।
लूका 6:1-11 नेपाली समकालीन संस्करण (NCV)
एक विश्रामदिन येशू अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो, अनि उहाँका चेलाहरूले अन्नका केही बालाहरू टिपेर हातमा माड्दै खानलागे। तर केही फरिसीहरूले भने, “किन तिमीहरू विश्रामदिनमा उचित नहुने काम गरिरहेका छौ?” येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले यति पनि पढेका छैनौ, दाविदले आफू र आफ्ना साथीहरू भोकाएको बेला के गरेका थिए? तिनी परमेश्वरको भवनभित्र पसेर परमेश्वरलाई अर्पण गरिएका रोटीहरू खाए, जो व्यवस्थाअनुसार केवल पूजाहारीहरूले मात्र खान उचित थियो। तिनले त्यसबाट केही भाग आफ्ना साथीहरूलाई पनि दिए, जुन व्यवस्थाविरुद्ध थियो।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र विश्रामदिनको पनि प्रभु हुन्।” अर्को विश्रामदिनमा उहाँ सभाघरमा जानुभयो र त्यहाँ शिक्षा दिँदै हुनुहुन्थ्यो, अनि त्यहाँ एकजना दाहिने हात सुकेर नचल्ने भएको मानिस पनि थियो। फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई दोष लगाउन केही निहुँ खोजिरहेका थिए। त्यसकारण कतै उहाँले विश्रामदिनमा पनि निको पार्ने काम गर्नुहुन्छ कि भनी चियो गरिरहेका थिए। तर तिनीहरूले के विचार गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र हात सुकेको त्यो मानिसलाई भन्नुभयो, “उठ र सबैको सामुन्ने खडा होऊ।” अनि त्यो उठ्यो र खडा भयो। त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामदिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि नष्ट पार्नु?” उहाँले चारैतिर ती सबैलाई हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्यो, अनि त्यसको हात पूर्ण रूपले निको भइहाल्यो। तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरू रिसले चूर भए, र येशूलाई के गर्न सकिन्छ भनी आपसमा छलफल गर्न लागे।
लूका 6:1-11 पवित्र बाइबल (NERV)
एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए। कोही फरिसीहरूले भने, “तिमीहरू किन त्यसो गर्दैंछौ? विश्रामको दिनमा यसो गर्नु मोशाको व्यवस्थाको विरुद्ध हो?” येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब केगरेका थिए? दाऊद परमेश्वरको मन्दिरमा गए अनि तिनले परमेश्वरलाई चढाएको रोटी लिए अनि खाए। अनि तिनले रोटीहरू आफूसँग हुने मानिसहरूलाई बाँडे। वास्तवमा यो मोशाको व्यवस्था विरुद्ध थियो। व्यवस्था अनुसार केवल पूजाहारीरूलाई मात्र यस्तो रोटी खाने अनुमति छ।” अनि येशूले फरिसीहरूलाई भन्नुभयो, “मानिसका पुत्र नै विश्राम दिनको प्रभु हुन्।” अर्को एक विश्रामको दिन येशू सभा घरमा जानु भयो। उहाँले मानिसहरूलाई शिक्षा दिनु भयो। एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो। शास्त्रीहरू र फरिसीहरू त्यो विश्रामको दिन पनि येशूले कसैलाई निको पार्छन् कि भनेर हर्दैं बसिरहेका थिए। तिनीहरू चाहन्थे येशूबाट केही भूल होस् अनि उनलाई दोष लगाउन पाइयोस्। तर येशूले तिनीहरूले के विचार गर्दैंछन् भनी बुझी हाल्नु भयो। उहाँले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “उठ, अनि यी मानिसहरूको अघाडि उभ।” यसकारण त्यो मानिस जुरूक्कै उठ्यो अनि त्यहाँ उभियो। येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होलाः राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?” येशूले ती वरिपरि बसेका सबैलाई हेर्नु भयो। अनि त्यस मानिसलाई भन्नु भयो, “खोई मलाई तिम्रो हात हेर्न देऊ।” त्यस मानिसले उहाँलाई हात देखायो। त्यसको हात तुरन्तै निको भइहाल्यो। फरिसीहरू र शास्त्रीहरू साह्रै रिसाए। तिनीहरू आपसमा तर्क गर्न लागे, “येशूलाई हामीले के गर्नु पर्ने हो?”
लूका 6:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू विश्रामको दिन गहुँ-खेतको बाटो भएर जाँदै हुनुहुन्थ्यो। उहाँका चेलाहरूले गहुँका बाला टिपेर हातले माड्दै खान लागे। यो देखेर फरिसीहरूले चेलाहरूलाई भने, “पवित्र विश्रामको दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तिमीहरू किन गर्दै छौ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद राजा र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ? उनले त परमेश्वरको मन्दिरभित्र पसेर परमेश्वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारीबाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो। तर दाऊदले त आफैंले मात्र नखाएर अरू मानिसहरूलाई पनि खान दिए।” अनि येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “म मानव पुत्र त पवित्र विश्राम दिनको पनि मालिक हुँ।” फेरि अर्को एक पवित्र विश्रामको दिन येशूले सभाघरमा गएर शिक्षा दिनुभयो। त्यहाँ दाहिने हात सुकेको मानिस पनि थियो। धर्म-गुरुहरू र फरिसीहरूले येशूलाई दोष लाउने कुरा खोजिरहेका थिए। त्यसो हुँदा तिनीहरूले येशूले त्यस मानिसको हात पवित्र विश्रामको दिनमा निको पार्नुहुन्छ कि भनेर हेर्दै थिए। तिनीहरूको मनको कुरा बुझेर येशूले हात सुकेको मानिसलाई भन्नुभयो, “तिमी उठेर यहाँ आऊ त!” तुरुन्तै त्यो मानिस उठेर अघिल्तिर गयो अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अब भन्नुहोस्, हाम्रो व्यवस्थाले पवित्र विश्रामको दिनमा के गर्नु ठीक छ भन्छ? भलाइ गर्नु भन्छ कि हानि गर्नु? बचाउनु भन्छ कि मार्नु?” अनि उहाँले तिनीहरू सबैलाई सरसरती हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” उसले हात तन्कायो र उसको हात निको भइहाल्यो। यो देखेर फरिसीहरू रिसले चुर भई येशूलाई के गर्नुपर्ने हो भनेर मतो गर्न थाले।