येशू विश्रामको दिन गहुँ-खेतको बाटो भएर जाँदै हुनुहुन्थ्यो। उहाँका चेलाहरूले गहुँका बाला टिपेर हातले माड्दै खान लागे। यो देखेर फरिसीहरूले चेलाहरूलाई भने, “पवित्र विश्रामको दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तिमीहरू किन गर्दै छौ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद राजा र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ? उनले त परमेश्वरको मन्दिरभित्र पसेर परमेश्वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारीबाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो। तर दाऊदले त आफैंले मात्र नखाएर अरू मानिसहरूलाई पनि खान दिए।” अनि येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “म मानव पुत्र त पवित्र विश्राम दिनको पनि मालिक हुँ।” फेरि अर्को एक पवित्र विश्रामको दिन येशूले सभाघरमा गएर शिक्षा दिनुभयो। त्यहाँ दाहिने हात सुकेको मानिस पनि थियो। धर्म-गुरुहरू र फरिसीहरूले येशूलाई दोष लाउने कुरा खोजिरहेका थिए। त्यसो हुँदा तिनीहरूले येशूले त्यस मानिसको हात पवित्र विश्रामको दिनमा निको पार्नुहुन्छ कि भनेर हेर्दै थिए। तिनीहरूको मनको कुरा बुझेर येशूले हात सुकेको मानिसलाई भन्नुभयो, “तिमी उठेर यहाँ आऊ त!” तुरुन्तै त्यो मानिस उठेर अघिल्तिर गयो अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अब भन्नुहोस्, हाम्रो व्यवस्थाले पवित्र विश्रामको दिनमा के गर्नु ठीक छ भन्छ? भलाइ गर्नु भन्छ कि हानि गर्नु? बचाउनु भन्छ कि मार्नु?” अनि उहाँले तिनीहरू सबैलाई सरसरती हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” उसले हात तन्कायो र उसको हात निको भइहाल्यो। यो देखेर फरिसीहरू रिसले चुर भई येशूलाई के गर्नुपर्ने हो भनेर मतो गर्न थाले।
लूका 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 6:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू