YouVersion लोगो
खोज आइकन

लूका 6:1-11

लूका 6:1-11 NNRV

शबाथ-दिनमा उहाँ अन्‍नको खेतबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्‌दै खान लागे। तर फरिसीहरूमध्‍ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्‍यो तिमीहरू किन गर्दछौ?” येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे? कसरी परमेश्‍वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।” अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र शबाथको प्रभु हो।” अर्को शबाथमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्‍यहाँ एक जना मानिस थियो जसको दाहिने हात सुकेको थियो। उहाँले शबाथमा निको पार्ने काम गरेको खण्‍डमा उहाँलाई दोष लगाउने नियतले शास्‍त्री र फरिसीहरू उहाँको चेवामा थिए। तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो, र सुकेको हात भएको मानिसलाई भन्‍नुभयो, “यहाँ आऊ र खड़ा होऊ।” अनि त्‍यो उठ्यो, र खड़ा भयो। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्‍छु, शबाथमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुनचाहिँ उचित हो?” अनि उहाँले सबैलाई चारैतिर हेरेर त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले त्‍यसै गर्‍यो, र त्‍यसको हात सद्दे भइहाल्‍यो। तर तिनीहरू रीसले चूर भए, र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे।