YouVersion लोगो
खोज आइकन

लूका 19:19-31

लूका 19:19-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तिनले त्‍यसलाई भने, ‘तैंले पनि पाँच सहरमाथि अधिकार पाउनेछस्‌।’ “अर्को आएर यसो भन्‍यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्‍का यहाँ छ। यो मैले रूमालमा बाँधेर राखेको थिएँ। म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्‍छ। जे राख्‍नुभएन त्‍यो लिनुहुन्‍छ, र जे छर्नुभएन त्‍यसैको कटनी गर्नुहुन्‍छ।’ “तिनले त्‍यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्‍साफ गर्नेछु, ए दुष्‍ट नोकर! जे राखिनँ त्‍यो लिने, र जे छरिनँ त्‍यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्‌। तब मेरो सिक्‍का बैङ्कमा किन राखिनस्‌ त? म आएर व्‍याजसहित त्‍यो पाउनेथिएँ।’ “तब नजिक उभिनेहरूलाई तिनले भने, ‘त्‍यसबाट त्‍यो सिक्‍का लिएर दश सिक्‍का हुनेलाई दिइहाल्‌।’ तिनीहरूले तिनलाई भने, ‘हजूर, त्‍यससँग त दश सिक्‍का छँदैछन्‌।’ “‘म तिमीहरूलाई भन्‍दछु, जससँग छ त्‍यसलाई अझ बढ़ी दिइनेछ, तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ। तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्‍याओ, र तिनीहरूलाई मेरै सामुन्‍ने मार’।” येशूले यी कुरा भन्‍नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्‌नुभयो। जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्‍नुभयो, उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सामुन्‍नेको गाउँमा जाओ, र भित्र पस्‍दापस्‍दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्‍म कोही मानिस चढ़ेको छैन। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ। कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्‍यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्‍नू।”

शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्

लूका 19:19-31 नेपाली समकालीन संस्करण (NCV)

“अनि त्यसका मालिकले भने, ‘तिमीले पाँच शहरहरूमाथि अधिकार गर।’ “त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्‍का यहीं छ, मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु। म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले त जे राख्नु नै भएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’ “त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्‍ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो, होइन र? त्यसो भए मेरो सिक्‍का तैंले किन साहुकहाँ राखिनस् त? त्यसो गरेको भए म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउने थिएँ।’ “त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्‍का लेओ, र जससित दश सिक्‍का छ त्यसलाई देओ।’ “तिनीहरूले भने, ‘मालिक, त्यससँग दश सिक्‍का छँदैछन् त!’ “तिनले जवाफ दिए, ‘म तिमीहरूलाई भन्दछु, जससित छ त्यसलाई अरू दिइनेछ, तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ। तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामुन्‍ने मार।’ ” येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानअघि बढ्नुभयो। जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुईजना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ। यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, त्यसलाई ‘प्रभुलाई यो चाहिएको छ’ भन्‍नू।”

शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्

लूका 19:19-31 पवित्र बाइबल (NERV)

राजाले त्यो नोकरलाई भने, ‘तिमीले पनि पाँचवटा शहरहरूमा शासन गर!’ “त्यपछि अर्को नोकर आयो। त्यसले राजलाई भन्यो, ‘मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेह्रेर लुकाईराखेको थिएँ। मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’ “त्यसपछि राजाले त्यो नोकरलाई भने, ‘तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु। यदि यी सबै साँच्चो हो भने मेरो पैसालाई तिमीले बैंकमा राख्न सक्थ्यौ। अनि जब म फर्केर आँए, मेरो रुपियाँले व्याज कमाएको हुन्थ्यो।’ त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, ‘रुपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दश थैली रुपियाँ छ त्यसलाई नै देऊ।’ “ती मानिसहरूले राजालाई भने, ‘तर मालिक, त्यो नोकरको त अघिबाटै दश थैलो रुपियाँ छ।’ “राजाले भने, ‘म भन्छु जसकोमा धेरै छ उसलाई धेरै नै दिइन्छ, अनि जसकोमा छैन, त्यसकोमा जो छ त्यो पनि लगिन्छ। अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाहाँदैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।’” यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो। उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ। कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘यो गधा मालिकलाई चाहिएको छ।’”

शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्

लूका 19:19-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

राजाले त्‍यसलाई भने, ‘तिमी पाँच सहरको हाकिम हुनेछौ।’ अर्को नोकरले आएर भन्‍यो, ‘हजुर, मैले तपाईंको असर्फी रुमालमा लुकाएर राखें, यो यहीँ छ। मलाई तपाईंदेखि डर लाग्‍यो किनभने तपाईं कठोर मानिस हुनुहुन्‍छ। तपाईं त आफूले लगानी नगरेको ठाउँमा पनि नाफा खोज्‍नुहुन्‍छ र आफूले नलगाएको बाली काटेर लिनुहुन्‍छ।’ राजाले त्‍यसलाई भने, ‘ए बदमाश नोकर, तेरै मुखको बोलीले म तँलाई दोषी ठहराउँछु। म कठोर मानिस छु, आफूले लगानी नगरेको ठाउँबाट नाफा खोज्‍ने र आफूले नलगाएको बाली काटेर लिने भनेर तँलाई थाहै रहेछ। त्‍यसो भए तैँले मेरो पैसा किन ब्‍याजमा लगाइनस् त? ब्‍याजमा लगाइदिएको भए म फर्केर आउँदा केही नभए पनि ब्‍याजसम्‍म त पाउने थिएँ।’ तिनले त्‍यहाँ उभिनेहरूलाई भने, ‘लौ, अब त्‍यसबाट त्‍यो असर्फी खोसेर दश वटा हुनेलाई देओ।’ तिनीहरूले भने, ‘हजुर, उसको त दश वटा छँदैछ नि!’ राजाले भने, ‘म तिमीहरूलाई भन्‍छु, जोसँग छ, उसलाई अझै दिइन्‍छ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्‍छ। अब मलाई राजा भएको नचाहने मेरा शत्रुहरूलाई यहाँ ल्‍याएर मेरै सामुन्‍ने मार’!” यो दृष्‍टान्‍त भन्‍नुभएपछि येशू तिनीहरूको अघिअघि यरूशलेमको बाटो लाग्‍नुभयो। बेथफागे र बेथानिया गाउँ छेउको जैतुन डाँडामा आइपुग्‍नुहुँदा येशूले दुई चेलाहरूलाई यसो भनी पठाउनुभयो, “ऊ त्‍यो पल्‍लो गाउँमा जाओ। त्‍यहाँ तिमीहरूले कहिल्‍यै कोही पनि नचढेको गधाको एउटा बछेडा बाँधिराखेको फेला पार्नेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ। यदि कसैले ‘यसलाई किन फुकाएको’ भनी सोध्‍यो भने, ‘प्रभुलाई चाहिएको छ’ भन।”

शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्