YouVersion लोगो
खोज आइकन

लूका 19

19
कर उठाउने जक्‍कै
1येशू यरिहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो। 2त्यहाँ जक्‍कै नाउँ भएका एकजना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए। 3अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए। 4त्यसकारण तिनी दौडेर अघि-अघि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यतैबाट आउनलाग्नुभएको थियो।
5जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जक्‍कै, चाँडै तल आऊ। आज मलाई तिम्रो घरमा बस्‍नुपरेको छ।” 6अनि तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।
7तर यो देखेर सबैजनाले गनगनाउँदै भन्‍न लागे, “उनी ता एउटा ‘पापी’ को घरमा पाहुना बस्‍न गए।”
8तर जक्‍कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीं नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; अनि यदि मैले कसैलाई कुनै कुरामा ठगेको भए, म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”
9येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्‍ति आएको छ, किनकि यी मानिस पनि अब्राहामकै एक छोरा हुन्। 10किनकि मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएका हो।”
दश सिक्‍काको दृष्‍टान्त
11तिनीहरूले यी कुराहरू सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो; किनकि उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, र मानिसहरूले परमेश्‍वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्‍ने विचार गरेका थिए। 12उहाँले भन्‍नुभयो: “असल खानदानका एकजना मानिस राजा नियुक्‍त भएर फेरि फर्कि आउनको लागि एउटा टाढा मुलुकमा गए। 13तिनले आफ्ना दश जना सेवकहरूलाई बोलाएर तिनीहरूलाई सुनका दश सिक्‍का#19:13 सिक्‍का मूल भाषामा मीना भनिन्छ र एक मीना बराबर तीन महिनाको ज्याला हुन्छ। दिएर भने, ‘म फर्केर नआएसम्म यो पैसा व्यापारमा लगाओ।’
14“तर उनका अधीनका प्रजाहरूले तिनलाई घृणा गर्दथे; र त्यसैले तिनका पछि-पछि तिनीहरूले यसो भन्‍ने दूतहरू पठाए, ‘यी मानिस हाम्रा राजा भएको हामी चाहँदैनौं।’
15“तर तिनी राजा भएर घर फर्के। त्यसपछि तिनले दिएका पैसाबाट सेवकहरूले कति फाइदा गरे भनी पत्ता लगाउनका लागि तिनले आफ्ना सेवकहरूलाई आफूकहाँ बोलाए।
16“पहिलो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू दश सिक्‍का कमाएको छु।’
17“अनि त्यसका मालिकले भने, ‘स्याबास, मेरो असल सेवक! तिमी सानो कुरामा पनि विश्‍वासयोग्य भयौ, त्यसकारण अब दश शहरहरूमाथि अधिकार गर।’
18“दोस्रो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू पाँच सिक्‍का कमाएको छु।’
19“अनि त्यसका मालिकले भने, ‘तिमीले पाँच शहरहरूमाथि अधिकार गर।’
20“त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्‍का यहीं छ, मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु। 21म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले त जे राख्नु नै भएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’
22“त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्‍ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो, होइन र? 23त्यसो भए मेरो सिक्‍का तैंले किन साहुकहाँ राखिनस् त? त्यसो गरेको भए म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउने थिएँ।’
24“त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्‍का लेओ, र जससित दश सिक्‍का छ त्यसलाई देओ।’
25“तिनीहरूले भने, ‘मालिक, त्यससँग दश सिक्‍का छँदैछन् त!’
26“तिनले जवाफ दिए, ‘म तिमीहरूलाई भन्दछु, जससित छ त्यसलाई अरू दिइनेछ, तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ। 27तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामुन्‍ने मार।’ ”
यरूशलेममा येशूको विजयी प्रवेश
28येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानअघि बढ्नुभयो। 29जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुईजना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, 30“तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ। 31यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, त्यसलाई ‘प्रभुलाई यो चाहिएको छ’ भन्‍नू।”
32ती अघि-अघि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्‍नुभएको थियो, त्यस्तै भेट्टाए। 33तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसको मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?”
34तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो चाहिएको छ।”
35तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले। 36उहाँ अघि बढ्दैगर्दा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए।
37उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूको सम्पूर्ण भीडले आफूहरूले देखेका सबै शक्‍तिशाली कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्न लागे:
38“प्रभुको नाउँमा जो राजा आउनुहुन्छ धन्य हुनुहुन्छ!”#19:38 भजन 118:26
“स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा।”
39भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!”
40उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने डुङ्गाहरू कराएर उठ्नेछन्।”
41जब येशू यरूशलेमको नजिक पुग्नुभयो, र शहरलाई देख्नुभयो, तब उहाँ त्यसको निम्ति रुनुभयो, 42र भन्‍नुभयो, “तैंले, हो तैंले नै शान्ति कुन कुराले ल्याउँछ भनी आज जानेको भए हुनेथियो, तर अब त्यो तेरो नजरबाट लुकेको छ। 43तँमाथि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि तेरो विरुद्धमा मोर्चा बाँध्नेछन्, घेरा हाल्नेछन् र तँलाई चारैतिरबाट थुनिराख्नेछन्। 44तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैंले तँकहाँ भएको परमेश्‍वरको आगमनको समयलाई चिनिनस्।”
प्रभु येशू मन्दिरमा
45त्यसपछि उहाँ मन्दिरको क्षेत्रभित्र प्रवेश गर्नुभयो र त्यहाँ बिक्री गर्नेहरूलाई निकाल्न लाग्नुभयो। 46उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’#19:46 यशै 56:7 तर तिमीहरूले यसलाई ‘डाँकूहरूको एउटा ओडार’ बनाएका छौ।”#19:46 यर्मिया 7:11
47त्यसपछि उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिन थाल्नुभयो। तर मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षकहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न खोज्दैथिए। 48तर तिनीहरूले उहाँलाई मार्न कुनै उपाय भेट्टाउन सकेनन्; किनकि सबै मानिसहरू उहाँका वचनमा प्रभावित भएका थिए।

अहिले सेलेक्ट गरिएको:

लूका 19: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्